काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा रसुवामा आएको बाढीपछि जारी खोज, उद्धार, उपचार तथा राहत वितरणका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिए ।
भेटमा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनः सञ्चालन तथा प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।
यसअघि प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गर्नुभएको थियो । सो भेटमा रसुवा बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार, राहत वितरण र अन्य व्यवस्थापनका विषयमा छलफल भएको थियो।