काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको सामर्थ्यमा सरकारले एकाधिकार कायम गर्दा विपद्को उद्धार तथा व्यवस्थापन प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्।
रसुवाको बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुझ्दै ओलीले प्रदेश र स्थानीय तहसँग प्रभावकारी समन्वय नगरेको भन्दै सरकारको कार्यशैलीको आलोचना गरे। उनले सरकार आमनागरिकका लागि ‘अदृश्य’ र ‘अगम्य’ बनेको टिप्पणी गरे।
सबै राजनीतिक दलले विपद्लाई साझा राष्ट्रिय समस्याका रूपमा लिएर सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए पनि सरकारले उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन गर्न नसकेको ओलीको भनाइ छ। उद्धारमा दक्ष संस्थाहरूको समेत सहयोग नलिएको उनले बताए।
‘सरकारले राज्यको सामर्थ्य आफ्नो नियन्त्रणमा राखेर एक किसिमले अगम्य र अप्राप्य जस्तो व्यवहार गर्यो,’ ओलीले भने, ‘सबै राजनीतिक दलले यो साझा दुःख र राष्ट्रिय समस्या हो, श्रेयको होडबाजी होइन, संयुक्त प्रयासबाट समाधान खोज्नुपर्छ भनेका छन्।’
नेपाल पर्वतारोहण संघजस्ता उद्धारमा दक्ष संस्थालाई खोजी तथा उद्धारमा परिचालन नगरेको र निजी क्षेत्रका हेलिकप्टर भाडामा लिएर प्रयोग गर्नसमेत अवरोध गरिएको उनले आरोप लगाए। विज्ञ तथा दक्ष संस्थाको अनुभव र क्षमताको उपयोग गरेर उद्धारलाई प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।
एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदन आइतबार ओलीलाई बुझाएको हो।