काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरी भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा आङ्देम्बेले बाढी प्रभावित नुवाकोटको ढुङ्गेबजार, देवीघाटलगायत क्षेत्रको स्थलगत अनुगमनपछि तयार पारिएको नौ बुँदे ध्यानाकर्षणपत्र प्रधानमन्त्री शाहलाई बुझाएका हुन्।
रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहतका क्रममा देखिएका समस्या तत्काल समाधान गर्नुपर्नेमा उनले जोड दिएका छन्। हवाई उद्धारलाई थप प्रभावकारी बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकोप्टर उद्धार युनिट बनाएर परिचालन गर्न उनले माग गरेका छन्। नेपाली सेनाले गरिरहेको उद्धार कार्यको प्रशंसा गर्दै उनले थप स्रोतसाधन परिचालन गर्नुपर्ने बताए।
त्यस्तै, अवरुद्ध सडक तथा पुल तत्काल सञ्चालनमा ल्याउन, क्षतिग्रस्त १९ भन्दा बढी पुलमध्ये कम्तीमा सात स्थानमा तत्काल बेलीब्रिज जडान गर्न उनले सरकारसँग आग्रह गरेका छन्। विद्युत् र सञ्चार सेवा शीघ्र सञ्चालन गरी उद्धार, राहत तथा नागरिकको आवागमन सहज बनाउनुपर्ने उनको माग छ।
बाढीपछि सम्पर्कविहीन नागरिकको खोजी तथा शव व्यवस्थापनलाई पनि तीव्र बनाउनुपर्ने आङ्देम्बेले बताएका छन्। बाढीले बगाएर ल्याएका शव विभिन्न स्थानमा छरिएर रहेकाले स्थलगत खोज तथा उद्धार टोली परिचालन गरी बेपत्ताको खोजी, शव पहिचान र उचित व्यवस्थापन गर्न उनले आग्रह गरेका छन्।
उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानबाट आवश्यकताअनुसार काठमाडौंसम्म पुर्याउन यातायातको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। घाइते तथा ज्येष्ठ नागरिकको उपचारलाई प्राथमिकता दिँदै नुवाकोट जिल्ला आयुर्वेद केन्द्रमा रहेका घाइतेका लागि अक्सिजन, औषधि र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था गर्न तथा ज्येष्ठ नागरिकका लागि आवश्यक शय्या उपलब्ध गराउन ध्यानाकर्षणपत्रमा माग गरिएको छ।
आङ्देम्बेले उद्धार तथा राहतमा स्थानीय तहसँग प्रभावकारी समन्वय गर्न पनि सरकारलाई आग्रह गरेका छन्। राहत वितरणमा सहयोग गर्न इच्छुक सामाजिक संघसंस्थालाई आवश्यक सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।
यसैगरी, त्रिशूलीलगायत नदी क्षेत्रमा आवागमन सहज बनाउन तुइनको शीघ्र व्यवस्था गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन्।
विपद्को कठिन परिस्थितिमा नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिनुपर्ने बताउँदै आङ्देम्बेले यस कार्यमा सरकारसँग सहकार्य र समन्वय गर्न नेपाली कांग्रेस तयार रहेको जनाएका छन्।