काठमाडौं । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले मुलुकको विद्यमान समस्या समाधानका लागि सदनको संघर्षसँगै सडकबाट पनि जनदबाब सिर्जना गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रियामा बोल्दै ज्ञवालीले वर्तमान चुनौतीको सामना गर्न साझा मुद्दामा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
सदनमा रहेका दलहरूले संसदीय प्रक्रियामार्फत आवाज उठाउनु सकारात्मक भए पनि त्यसले मात्रै मुलुकको अवस्था सुधार्न नसक्ने उनको भनाइ थियो । देशको वर्तमान अवस्थालाई ‘अधोगति’को संज्ञा दिँदै उनले जनताको सशक्त हस्तक्षेपबाट मात्रै त्यसलाई रोक्न सकिने बताए ।
‘मुलुकको अवस्था सुधार्न त्यो मात्र पर्याप्त छैन । आवश्यक पर्दा जनताका मुद्दाहरू लिएर सडकमा समेत जान तयार हुनुपर्छ र सोहीअनुरूपको तयारी गर्नुपर्छ,’ ज्ञवालीले भने ।
साझा मुद्दाको पहिचान गरी राजनीतिक दल तथा सबै पक्ष एकीकृत रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कम्युनिस्ट आन्दोलनको पुनर्गठन र सहकार्यको आवश्यकतासमेत औँल्याए । जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै राजनीतिक परिवर्तन र स्थायित्व सुनिश्चित गर्न सकिने उनको भनाइ थियो ।