काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले विगतका कमजोरी र असफलताको आलोचनामा अल्झिनुभन्दा आगामी ३५ वर्षको कार्ययोजना बनाउनुपर्ने बताए ।
आइतबार काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले अब अरू दललाई दोष दिएर आफूलाई राम्रो देखाउने ठाउँ रास्वपासँग नरहेको बताए ।
‘अब यो ३५ वर्षको हिसाबको कुरा गर्ने होइन साथी हो । ३५ वर्षको योजना ल्याउनुहोस्,’ उनले भने ।
विगतमा आफूहरूले अरू नेता र दललाई दोष दिएर आफूलाई अग्लो देखाउन सक्ने अवस्था रहेको भन्दै उनले अब देश र आगामी पुस्ताको भविष्य निर्माणमा केन्द्रित हुनुपर्ने बताए । ‘अबको ३५ वर्षमा कस्तो बनाउने हाम्रै हातमा छ नि,’ उनले भने ।
विगत ३५ वर्षमा पुराना राजनीतिक दलले गरेका सकारात्मक कामका लागि धन्यवाद दिनुपर्ने पनि लामिछानेले बताए । विगतका कमजोरीको निरन्तर आलोचनाभन्दा देशको भविष्यका लागि दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।