काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदको मर्यादा कायम राख्दै जनसरोकारका विषय प्रभावकारी ढंगले उठाउन पार्टीका सांसदहरू मर्यादित रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ठूलो राजनीतिक दलमा धेरै सांसद हुँदा व्यक्तिगत रूपमा विवादित अभिव्यक्ति आउन सक्ने भए पनि त्यसलाई समग्र पार्टीको धारणा मान्न नहुने बताए। ‘संसदको मर्यादा कायम गर्ने जिम्मेवारी पनि हाम्रो रहन्छ,’ उनले भने।
संसद र संसदीय समितिमा रास्वपाका सांसदहरूको प्रस्तुति, उठाइरहेका विषय तथा सरकारका कामकारबाहीबारे आएका प्रश्नका विषयमा बुधबार सांसदहरूसँग आन्तरिक छलफल गरिएको उनले बताए। सरकार, मन्त्रालय वा मन्त्रीबारे पार्टीभित्र कुनै असन्तुष्टि भए त्यसबारे पनि छलफल गरिएको उनको भनाइ छ।
लामिछानेले सांसदहरूलाई संसदमा मर्यादित ढंगले प्रस्तुत हुन र जनताको जीवनसँग जोडिएका विषय उठाउन अभिमुखीकरणलगायत कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।
रास्वपाका संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र साह भने छलफलमा सहभागी थिएनन्। उक्त कार्यक्रम संसदीय दलको औपचारिक बैठक नभएकाले साह सहभागी नभएको लामिछानेले स्पष्ट पारे। औपचारिक बैठकमा दलका नेता सहभागी हुने उनले बताए।