काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय यथावत राखेको छ। भदौमा हुन सक्ने अत्यधिक वर्षाका कारण वडा र पालिका तहका अधिवेशन प्रभावित भए तिनको कार्यतालिका भने आवश्यकताअनुसार हेरफेर गर्न सकिने भएको छ।
मंगलबार पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले संविधान, प्रचलित कानुन, पार्टी विधान र विशेष महाधिवेशनको निर्णयअनुसार १५औँ महाधिवेशन मंसिर मसान्तअघि सम्पन्न गर्नुपर्ने भएकाले निर्धारित मितिमै महाधिवेशन गर्ने निर्णय गरिएको बताए।
भदौको वर्षाले वडा तथा पालिका तहका अधिवेशन प्रभावित हुन सक्ने भएकाले केन्द्रीय निर्वाचन समितिले सम्बन्धित जिल्ला निर्वाचन समितिसँग समन्वय गरी तल्लो तहको निर्वाचन कार्यतालिकामा सामान्य हेरफेर गर्न सक्ने निर्णय भएको उनले बताए। ‘१५ औं महाधिवेशन २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने निर्णय यथावत कायम राखिएको छ,’ उनले भने।
क्रियाशील सदस्यताको डिजिटल अभिलेख
कांग्रेसले महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यताको वितरण, नवीकरण, अद्यावधिक र अभिलेख व्यवस्थापन डिजिटल प्रणालीबाट व्यवस्थित गर्ने निर्णय गरेको छ। छुटेका सदस्यलाई निश्चित समय दिएर सदस्यता अद्यावधिकको अवसर दिने निर्णयसमेत भएको चालिसेले बताए।
सदस्यता व्यवस्थापन समितिले गरेका निर्णय अनुमोदन गर्दै डिजिटल प्रणालीमा देखिएका प्राविधिक तथा व्यवस्थापकीय समस्या समाधानका लागि समितिलाई आवश्यक अख्तियारी दिइएको छ।
गगनको संयोजकत्वमा मूल व्यवस्थापन समिति
महाधिवेशन व्यवस्थापनका लागि सभापति गगनकुमार थापाको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। समितिले आवास, खाद्य व्यवस्था, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायत विषय हेर्न आवश्यक उपसमिति गठन गर्नेछ।
महाधिवेशनमा सभापति थापाले ‘आगामी दशक : लोकतन्त्र र कांग्रेस’ शीर्षकमा मुख्य राजनीतिक प्रस्ताव पेस गर्नेछन्। उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक संस्कृतिमा आएको क्षय र योगदानको रूपान्तरणसम्बन्धी, अर्की उपसभापति पुष्पा भुसालले निर्वाचनसम्बन्धी विशेष र महामन्त्री गुरुराज घिमिरेले संगठनसम्बन्धी प्रस्ताव पेस गर्ने कांग्रेसले जनाएको छ।
महाधिवेशन प्रचारप्रसार समितिको जिम्मेवारी प्रवक्ता चालिसेलाई दिइएको छ।
पौडेलको संयोजकत्वमा विधान संशोधन समिति
कांग्रेसले विधानलाई समयसापेक्ष बनाउन महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ। समितिले पार्टीका विभिन्न तह र निकायसँग संवाद तथा सुझाव लिएर संशोधनको मस्यौदा तयार गरी केन्द्रीय कार्यसमितिमा पेस गर्नेछ।
महाधिवेशन प्रक्रिया सरल, पारदर्शी र सहभागितामूलक बनाउन नियमावली तथा निर्वाचन निर्देशिकामा आवश्यक परिमार्जन गर्ने निर्णय पनि भएको छ। निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्न विधानको धारा ३५(२)(घ) मा रहेको ‘छ महिना अगाडि’ भन्ने व्यवस्थासमेत निलम्बन गर्ने निर्णय गरिएको चालिसेले बताए।
बैठकले नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, तरुण दल र नेपाल दलित संघलगायत भ्रातृ संस्थाका विधान आवश्यक संशोधनसहित पारित गरेको छ। लामो समयदेखि अधिवेशन हुन नसकेका भ्रातृ संस्थालाई नियमित अधिवेशन, नेतृत्व विकास र संगठन विस्तारको माध्यमका रूपमा अघि बढाउने कांग्रेसले जनाएको छ।
यस्तै, संविधानको रक्षा तथा आवश्यक सुधार, लोकतान्त्रिक मूल्यको संरक्षण, सुशासन, प्रेस तथा नागरिक स्वतन्त्रताको सुरक्षा, सामाजिक सद्भाव, विपद् व्यवस्थापन, उत्पादन तथा लगानी विस्तार र नागरिकका आधारभूत समस्या समाधानलाई पार्टीको प्राथमिकतामा राख्ने निर्णय पनि कांग्रेसले गरेको छ।