काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राईले जनजीविकाका समस्या समाधानमा सरकारले ठोस परिणाम दिनुपर्ने बताएका छन् । पुराना दललाई दोष दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन सरकारलाई छुट नभएको उनको भनाइ छ ।
सोमबार संघीय संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै राईले ग्यास अभावलगायत जनताले भोगिरहेका समस्यामा सरकारले बहानाबाजी नगरी काम गरेर देखाउनुपर्ने बताए ।
‘पुराना दलले काम गर्न नसकेर नै जनताले नयाँ शक्तिलाई मत दिएका हुन् । त्यसैले सरकारले अब नतिजा देखाउनुपर्छ,’ उनले भने ।
सभामुखले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन गरेको रुलिङलाई सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने राईले बताए । प्रधानमन्त्री संसद्मा उपस्थित भएको दिन सीमा समस्या र जनजीविकाका विषयमा प्रश्न गर्ने तयारी रहेको उनले जानकारी दिए ।
जनताले भोगिरहेका समस्या आफूले समेत अनुभूति गरेको उल्लेख गर्दै उनले सरकार गुनासोमा नभई काममा केन्द्रित हुनुपर्ने बताए ।
प्रहरी नेतृत्वमाथि लागेको भ्रष्टाचारको आरोपबारे राईले प्रमाणबिना कसैलाई आरोपित गर्न नहुने बताए । आरोप लगाउने पक्षले ठोस प्रमाणसहित विषय उठाउनुपर्ने उनको भनाइ थियो ।