काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले शिक्षा, स्वास्थ्य र विद्युत्जस्ता आधारभूत सेवामा कर लगाएर सरकारले जनतालाई थप भार थोपरेको टिप्पणी गर्दै सरकार सञ्चालनको ढंग नभए मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।
सोमबार काठमाडौंमा डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल उठाउन तथा विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै सुरु गरिएको हस्ताक्षर अभियानमा राउतले विद्युत्मा ५ प्रतिशत भ्याट लगाउने सरकारको निर्णयको विरोध गरे ।
नेपालले विद्युत् उत्पादन र निर्यातमा गर्व गरिरहेको अवस्थामा आफ्नै नागरिकले विद्युत् खपत गर्दा कर तिर्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको उनले बताए । लोडसेडिङ अन्त्य गरिसकेको अनुभव र क्षमता भएका व्यक्ति हुँदाहुँदै तथा ठूलो परिमाणमा विद्युत् खेर गइरहेको अवस्थामा समेत सरकारले उचित व्यवस्थापन गर्न नसकेको भन्दै उनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए ।
‘एकातर्फ ग्यास पाइँदैन, अर्कातर्फ बिजुलीमा कर लगाइन्छ । जनता भोकै कति दिन बस्न सक्छन् ?’ उनले भने ।
राउतले ‘उज्यालो नेपाल’ अभियानका संवाहक कुलमान घिसिङको योगदानको चर्चा गर्दै विद्युत्मा लगाइएको कर फिर्ता नगरे सरकारले नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बताए । सरकार सञ्चालनको ढंग नमिले विकल्प दिन आफूहरू तयार रहेको उनको भनाइ थियो ।
ग्यास, राहदानी र अस्पतालमा समेत सर्वसाधारणले लामो लाइन बस्नुपर्ने अवस्था रहेको भन्दै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाए । प्रधानमन्त्री आफ्नै दल, कर्मचारी संयन्त्र र सल्लाहकारबाट पर्याप्त सहयोग नपाई घेराबन्दीमा परेकोजस्तो देखिएको भन्दै उनले यस्तो अवस्थामा एक्लैले चमत्कार गर्न नसक्ने टिप्पणी गरे ।