इलाम। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ‘भवितव्य’को उपज भएको टिप्पणी गर्दै गठन प्रक्रिया र कार्यशैलीप्रति प्रश्न उठाएका छन्।
इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले असहज परिस्थिति सिर्जना गरेर वर्तमान सरकार अस्तित्वमा आएको दाबी गरे। उनले सरकार गठनलाई क्यारम खेल्दा संयोगवश गोटी प्वालमा छिरेको घटनासँग तुलना गरे।
‘यो भवितव्यको सरकार हो,’ ओलीले भने, ‘यस्ता घटनाबाट हामी विचलित हुनुपर्ने आवश्यकता छैन।’
सरकार गठन भएलगत्तै प्रतिशोधको राजनीति सुरु गरेको टिप्पणी गर्दै ओलीले आफू, कांग्रेस नेता रमेश लेखकसहित अन्य नेतामाथि पक्राउ र झुटा मुद्दा लगाउने प्रयास भएको दाबी गरे। ट्रेड युनियन, विद्यार्थी, कर्मचारी, शिक्षक र प्राध्यापकमाथिसमेत प्रतिबन्ध लगाउने काम भइरहेको उनको आरोप थियो।
सरकारका गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको भन्दै ओलीले देशको हित र रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए। कार्यकर्तालाई राष्ट्रभक्तिको भावनासहित अघि बढ्न उनले आग्रह गरे।