काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तामा पुग्नु र पद प्राप्त गर्नुलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउँदा दलहरूमा असन्तुष्टि र निराशा बढेको बताएका छन्।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा थापाले कति पटक सभापति, सांसद वा मेयर भयो भन्ने आधारमा राजनीतिक सफलता मापन गर्ने प्रवृत्तिले राजनीतिक दललाई असफल मान्छे उत्पादन गर्ने कारखाना बनाएको टिप्पणी गरे।
‘सफलताको मानक नै हामी सत्तामा वा शक्तिमा कति पटक त्यहाँभित्र गयौँ भन्ने कुरा बनाइएको छ,’ उनले भने, ‘यो परिभाषा नबदलिकन यसले समस्या ल्याउँछ।’
पदमा रहेकालाई पद गुम्ने र पदबाट बाहिरिएकालाई पुनः फर्किन नसकिने चिन्ताले सताइरहेको उनको भनाइ थियो। कांग्रेस र एमाले दुवैमा यस्तो प्रवृत्ति रहेको दाबी गर्दै उनले नयाँ पुस्तामा समेत संघर्षभन्दा प्राप्तिलाई मात्रै महत्त्व दिने प्रवृत्ति बढेको बताए।
राजनीतिक दलको ‘आत्मा’ नेताको घरमा नभई पार्टीका लागि लामो समय संघर्ष गरेका परिवारको इतिहासमा खोजिनुपर्ने थापाको भनाइ थियो। कांग्रेसमा योगदान गरेका त्यस्ता परिवारको इतिहास खोजेर पार्टीसँग पुनः जोड्न आफू इच्छुक रहेको उनले बताए।
थापाले सञ्चारमाध्यमलाई समेत राजनीतिक पद र शक्तिमा रहेका व्यक्तिका अभिव्यक्तिलाई मात्रै केन्द्रमा नराख्न आग्रह गरे।