इलाम। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा रहेको वर्तमान सरकार अनुभवहीन भएकाले मुलुक बर्बादीतर्फ उन्मुख भएको टिप्पणी गरेका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई इलाममा सम्बोधन गर्दै ओलीले नयाँ भनिएका राजनीतिक शक्तिसँग शासन सञ्चालनको न्यूनतम दक्षतासमेत नभएको दाबी गरे । अनुभव र प्रक्रिया नबुझेकालाई राज्य सञ्चालनको जिम्मेवारी दिँदा अपेक्षित परिणाम आउन नसक्ने उनको भनाइ थियो ।
‘मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन,’ ओलीले भने । शासन सञ्चालनमा पनि ज्ञान, सीप र अनुभव आवश्यक पर्ने उनले बताए ।
अनुभवहीन नेतृत्वका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति बढेको आरोप लगाउँदै ओलीले संविधान उल्लंघन भइरहेको दाबी गरे । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्दै उनले त्यसको औचित्यमाथि प्रश्न उठाए ।
‘प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक ढंगले चुनावको नाटक गरियो,’ ओलीले भने, ‘प्रतिनिधि सभाको कार्यकाल अझै बाँकी हुँदाहुँदै किन विघटन गरियो?’
मुलुकको हित र विकासका लागि सक्षम तथा अनुभवी नेतृत्व आवश्यक रहेको भन्दै ओलीले कार्यकर्तालाई संविधानको रक्षा र राष्ट्रिय हितका पक्षमा सचेत रहन निर्देशन दिए ।