काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले बहुमतको समर्थन पाए पनि ठोस र जनपक्षीय काम गर्न नसकेको भन्दै सरकारलाई ‘कामचलाउ’को संज्ञा दिएका छन्।
शनिबार काठमाडौंमा कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। उनले वर्तमान सत्ता समीकरण पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा समेत आशंका व्यक्त गर्दै मुलुक मध्यावधि निर्वाचनतर्फ जान सक्ने सम्भावना रहेको बताए।
‘नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ,’ कोइरालाले भने।
बहुमत भए पनि सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको उनको टिप्पणी थियो। वर्तमान सरकारको कार्यशैलीबाट आफू सन्तुष्ट नरहेको बताउँदै उनले राजनीतिक घटनाक्रम जुनसुकै दिशामा जान सक्ने बताए।
‘यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ,’ उनले भने।
राजनीति सम्भावनाको खेल भएकाले आगामी दिनमा मध्यावधि निर्वाचनको अवस्था आउन सक्ने उनको भनाइ थियो।