काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विजयकुमार गच्छदारले पार्टीभित्रको आन्तरिक कलह अन्त्य गरी कांग्रेसलाई एकताबद्ध बनाउन पूर्वसभापति शेरबहादुर देउवा र युवा पुस्ताका नेताहरूको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा संस्थापनइतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै गच्छदारले पार्टी सभापति गगन थापासहित नेतृत्वमा रहेका नेताहरूलाई जिम्मेवार भएर अघि बढ्न आग्रह गरे । उनले देउवालाई गुटबन्दीभन्दा माथि उठेर अभिभावकीय भूमिका निर्वाह गर्न सुझाव दिए ।
‘तपाईं पार्टीको मात्र नभई देशकै नेता हुनुहुन्छ । राजनीतिमा व्याप्त विसंगति र डर्टी गेमबाट मुक्त गर्दै देश र पार्टीको हितका लागि तपाईंले आफूलाई व्यक्ति र समूहभन्दा माथि उठाउन आवश्यक छ । तपाईंले चाहेमा पार्टीको विवाद टुंगो लाग्न सक्छ,’ गच्छदारले भने ।
पार्टीको आन्तरिक विवाद अन्त्यका लागि नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । पुरानो र नयाँ पुस्ताबीच समन्वय कायम गर्दै संगठनलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।
युवा पुस्तातर्फ संकेत गर्दै गच्छदारले नेतृत्वमा आएका नयाँ पुस्ताले संवेगात्मक र भावनात्मक पक्षलाई समेत बुझेर अघि बढ्नुपर्ने बताए । सभापति गगन थापाले केही समयअघि प्रयोग गरेको ‘करुणा’ शब्दको प्रसंग निकाल्दै उनले राजनीतिमा दया र मानवीय संवेदनाको पनि महत्व हुने बताए ।
कार्यक्रममा पूर्वमहामन्त्री डा. शशांक कोइराला, नेता शेखर कोइराला र सभापति देउवाको उपस्थितिलाई संकेत गर्दै गच्छदारले नेतृत्व तहमा कोइराला परिवार र देउवाबीचको सहकार्यलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे ।
गच्छदारले १६ बुँदे सहमतिको स्मरण गर्दै वर्तमान संविधान निर्माणमा आफ्नो महत्वपूर्ण भूमिका रहेको पनि बताए । आफू संविधानको मस्यौदा तयार गर्ने प्रमुख हस्ताक्षरकर्तामध्ये एक रहेको उल्लेख गर्दै उनले कानून, नीति र सिद्धान्तबारे आफू जानकार रहेको बताए ।