काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रियता र संविधानमाथि गम्भीर खतरा रहेको बताएका छन् । राष्ट्रियताको रक्षा र लोकतन्त्र सुदृढ गर्न कांग्रेसभित्र पूर्ण एकता र लोकतन्त्रवादी शक्तिबीच ध्रुवीकरण आवश्यक रहेको उनको भनाइ छ ।
शुक्रबार काठमाडौंमा पार्टीभित्रको अन्योल चिर्न र नयाँ उत्साह भर्न आयोजित कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले राष्ट्रियताको रक्षाका लागि पार्टीको आन्तरिक एकता पहिलो शर्त भएको बताए ।
उनले २०३३ सालमा जननायक बीपी कोइरालाले राष्ट्रियतामा खतरा देखेर मेलमिलापको नीति लिई स्वदेश फर्किएको समयभन्दा अहिलेको परिस्थिति सयौँ गुणा बढी चुनौतीपूर्ण र संवेदनशील रहेको दाबी गरे । पछिल्ला जातीय तथा धार्मिक द्वन्द्वका घटनातर्फ संकेत गर्दै उनले ती घटनालाई ‘डरलाग्दो भविष्यको ट्रेलर’ भएको टिप्पणी गरे ।
मधेशमा देखिएका पछिल्ला अस्थिरताले मुलुकलाई तरंगित बनाएको उल्लेख गर्दै खड्काले समयमै सचेत नभए देशले भयावह परिस्थिति सामना गर्नुपर्ने चेतावनी दिए ।
‘अहिले नेपालको राष्ट्रियता र संविधानमाथि ठुलो खतरा छ । यसलाई जोगाउन कांग्रेसभित्रको पूर्ण एकता र लोकतन्त्रवादी शक्तिहरूको ध्रुवीकरण अनिवार्य छ,’ उनले भने ।
पार्टीको आन्तरिक राजनीतिबारे बोल्दै खड्काले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसलाई एक ढिक्का बनाएर अघि बढाउने संकल्प भेलाले गर्ने विश्वास व्यक्त गरे । विशेष महाधिवेशन वा अन्य कुनै नाममा गरिने अवैधानिक गतिविधिले संगठनलाई कमजोर बनाउने भन्दै उनले नेतृत्वलाई सच्याउन र एकताको बाटोमा फर्कन दबाब दिनुपर्ने बताए ।