ललितपुर । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। १५औं महाधिवेशनको तयारी, सरकारको १०० दिनको समीक्षा र समसामयिक राजनीतिक परिस्थिति बैठकका मुख्य एजेन्डा छन्।
महामन्त्री प्रदीप पौडेलले बैठकमा महाधिवेशन तयारीसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै आवश्यक नियमावली र निर्वाचन निर्देशिकामाथि छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको बताए। क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरणको प्रक्रियालाई अन्तिम रूप दिने र महाधिवेशन तयारी समिति गठन गर्ने विषय पनि एजेन्डामा छन्।
विभिन्न जिल्लाबाट आएका प्रतिनिधिको प्रतिवेदनमाथि संक्षिप्त छलफल हुने र केन्द्रीय कार्यसम्पादन समितिले यसअघि गरेका निर्णयलाई केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने कार्यसूची पनि छ।
बैठकले वर्तमान सरकारको १०० दिनको कार्यसम्पादन समीक्षा गर्नेछ। प्रमुख प्रतिपक्षी दलका रूपमा काँग्रेसको भूमिकालाई प्रभावकारी बनाउने र जनसरोकारका विषयमा पार्टीको स्पष्ट धारणा तय गर्ने विषयमा पनि छलफल हुनेछ।
तराई–मधेसमा हालै भएका घटनाक्रम र सामाजिक सद्भावको विषय पनि बैठकको एजेन्डामा छ। घटनाको समीक्षा गर्दै सामाजिक सद्भाव सुदृढ बनाउन आवश्यक रणनीति तय गरिनेछ।
संगठनात्मकतर्फ सदस्यता व्यवस्थापन केन्द्रीय समितिका निर्णय, जनसम्पर्क समितिका समस्या तथा अन्य दलबाट काँग्रेस प्रवेश गरेकाको व्यवस्थापनबारे पनि बैठकमा छलफल हुनेछ। हाल १३ देशमा जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी देशमा अधिवेशन गराउने र नयाँ देशमा समिति गठनका लागि स्वीकृति दिने प्रस्ताव पनि पेस गरिएको छ।
प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति तथा भ्रातृ र शुभेच्छुक संस्थाका विधान र स्वीकृतिलगायत विषयमा पनि बैठकले छलफल गर्नेछ।