काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज र सरल बाटोबाट अघि बढ्ने विषय नभएको बताएका छन्। सत्ता र नेतृत्वमा पुग्न राजनीतिमा अनेक चुनौती र घुमाउरा बाटो पार गर्नुपर्ने उनको भनाइ छ।
शनिबार अग्रगामी मोर्चा घोषणा कार्यक्रममा ठाकुरले राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिँदै सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ ‘टेढा–मेढा बाटो’ हिँड्नुपर्ने बताए।
‘राजनीति आफैँमा एउटा डर्टी गेम हो,’ उनले भने, ‘अष्टावक्रझैँ टेढा–मेढा बाटा पार गर्दै चुनौती र कठिनाइ सामना गरेर सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ।’
राजनीतिमा टिकिरहन र अघि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने ठाकुरको भनाइ थियो।