काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरणका लागि प्रविधिमा आधारित सुरक्षा प्रणालीलाई थप सुदृढ बनाइने बताएकी छन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बादीले महिलाले सार्वजनिक यातायातमा भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भीडभाड र आवागमनसम्बन्धी व्यावहारिक चुनौतीलाई सम्बोधन गर्न सरकारले महिला लक्षित ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याएको जानकारी दिइन्।
उनले ‘ब्लु बस’ सेवाले लैङ्गिक असमानतालाई बढावा नदिने स्पष्ट पार्दै विशेष जोखिममा रहेका नागरिकलाई आवश्यकताअनुसार संरक्षण, सुविधा र अवसर उपलब्ध गराउनु नै वास्तविक समानताको आधार भएको उल्लेख गरिन्।
“समानताको अर्थ सबैलाई सधैँ एउटै व्यवहार गर्नु मात्र होइन, आवश्यकताअनुसार विशेष संरक्षण र अवसर उपलब्ध गराउनु पनि हो,” मन्त्री बादीले भनिन्।
उनका अनुसार ‘ब्लु बस’ सेवाको उद्देश्य महिलालाई सार्वजनिक जीवनबाट अलग गर्नु नभई उनीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो। यो सेवाले महिलालाई अन्य सार्वजनिक यातायात प्रयोग गर्न रोक नलगाउने र विद्यमान सार्वजनिक यातायात प्रणालीको विकल्पका रूपमा पनि सञ्चालन नहुने उनले स्पष्ट पारिन्।
मन्त्री बादीले तत्कालीन सुरक्षाका लागि लक्षित सेवा सञ्चालनसँगै दीर्घकालीन रूपमा सबै नागरिकका लागि सुरक्षित, मर्यादित र सम्मानजनक सार्वजनिक यातायात प्रणाली विकास गर्ने सरकारको योजना रहेको बताइन्।
यसका लागि सम्बन्धित मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, नेपाल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक कार्यक्रम अघि बढाइने उनले जानकारी दिइन्।
सरकारले सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसाविरुद्धका कानुनको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सवारीसाधनमा सिसिटिभी जडान, राइड–सेयरिङ एपमा एसओएस बटनको व्यवस्था तथा प्रविधिमा आधारित सुरक्षा र अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउने तयारी गरेको मन्त्री बादीले बताइन्।