काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले डिजिटल हिंसा नियन्त्रणका लागि कानुनी, संस्थागत र प्राविधिक सुधार अपरिहार्य रहेको बताएकी छन्।
सोमवार प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा साइबर सुरक्षासम्बन्धी छलफलमा उनले डिजिटल प्रविधिको तीव्र विस्तारसँगै साइबर अपराध र डिजिटल हिंसा सामाजिक तथा मानवअधिकारको गम्भीर चुनौती बनेको बताइन्। साइबर बुलिङ, चरित्र हत्या, नक्कली सामाजिक सञ्जाल खाता, निजी फोटो तथा भिडियोको दुरुपयोग, डिपफेक, ब्ल्याकमेलिङ, साइबर स्टकिङ र डिजिटल वित्तीय ठगीका घटना बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता अपराधबाट विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय बढी प्रभावित भएको बताइन्।
उनले मन्त्रालयले डिजिटल हिंसासहित सबै प्रकारका लैङ्गिक हिंसालाई समेट्ने एकीकृत कानुनको अवधारणा तयार गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको जानकारी दिइन्। प्रस्तावित कानुनमा डिजिटल हिंसा, साइबर बुलिङ र नयाँ प्रविधिबाट हुने अपराधलाई समेटिएको उनले बताइन्।
एआई, डिपफेक र सीमापार सञ्चालित डिजिटल प्लेटफर्मका कारण अनुसन्धान जटिल बन्दै गएको उल्लेख गर्दै मन्त्री वादीले नेपाल प्रहरी र साइबर ब्यूरोको अनुसन्धान क्षमता, जनशक्ति, बजेट तथा डिजिटल फरेन्सिक पूर्वाधार सुदृढ गर्नुपर्नेमा जोड दिइन्। नयाँ प्रविधिसँग सम्बन्धित अपराधलाई समेट्ने कानुनी सुधार शीघ्र अघि बढाउन, गैरकानुनी सामग्री हटाउने संयन्त्र विकास गर्न तथा विद्यालयदेखि समुदायसम्म डिजिटल साक्षरता र सुरक्षित इन्टरनेट प्रयोगसम्बन्धी कार्यक्रम विस्तार गर्न पनि उनले सम्बन्धित निकायलाई आग्रह गरिन्।
राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्ताव कार्यान्वयनका लागि एकीकृत लैङ्गिक हिंसासम्बन्धी विधेयकलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिँदै उनले डिजिटल हिंसाविरुद्धको राष्ट्रिय जनचेतना अभियान संघ, प्रदेश र स्थानीय तहसम्म विस्तार गरिने बताइन्। उनले भनिन्, ‘हामीले महिलाहरूलाई प्रविधिबाट टाढा राख्न होइन, सुरक्षित बनाउन चाहन्छौँ।’
मन्त्री वादीले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले सुरक्षा, सम्मान र विश्वासका साथ डिजिटल सेवा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु राज्य र समाजको साझा दायित्व भएको बताइन्।