काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले इतिहास र मुलुक निर्माणमा योगदान दिएका अग्रजप्रति सम्मान गर्ने संस्कार नयाँ पुस्तामा कमजोर बन्दै गएको बताएका छन्।
आइतबार तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले योगदान गर्ने व्यक्तित्वलाई चिन्न, मूल्यांकन गर्न र सम्मान गर्न नसक्ने अवस्था समाजका लागि चिन्ताको विषय भएको बताए। “जुन देशमा नयाँ पुस्ताले पुराना पुस्ताको सम्मान गर्न सक्दैन, त्योभन्दा लाजमर्दो कुरा अरू हुँदैन,” उनले भने।
समाजले नयाँ पुस्तालाई कस्तो संस्कार र मूल्य सिकाइरहेको छ भन्ने विषयमा आत्ममन्थन आवश्यक रहेको उनले बताए। इतिहासप्रति सम्मान, अग्रजप्रतिको कदर र मानवीय संवेदनाको संस्कार कमजोर बन्दै गएको उनको भनाइ थियो।
उनले गत वर्ष भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी, कुटपिट र अंगभंगजस्ता हिंसात्मक घटना भएको उल्लेख गर्दै यस्ता गतिविधि स्वीकार्य हुन नसक्ने बताए। अरूको घर जलाउने वा परिवारका सदस्यलाई आक्रमण गर्नेहरूले त्यही घटना आफ्नै परिवारमा भएको भए कस्तो अवस्था सिर्जना हुन्थ्यो भन्ने सोच्नुपर्ने उनको भनाइ थियो।
नेपालले समाजमा सहिष्णुता, मानवीय संवेदना र आत्ममूल्यांकनको संस्कार विकास गर्न सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए।