काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त घटनामा सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाउँदै त्यहाँ गोली चलाउनै पर्ने अवस्था थियो वा थिएन भन्ने विषयमा स्पष्ट छानबिन हुनुपर्ने बताए।
प्रचण्डले भने, ‘सुनसरीको कप्तानगञ्जमा बोलबम धार्मिक यात्राका क्रममा उत्पन्न विवाद चर्किएर दुखद घटनामा परिणत भएको छ। यसले कतै ठूलो साम्प्रदायिक विद्वेषको रूप लिने त होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइरहेको छ। यो घटनामा सुरक्षा निकायको भूमिका के रह्यो? त्यहाँ त्यस्तो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन? यी सबै विषयको विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याइनुपर्छ।’
उनले घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे।