काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच बनेको नयाँ राजनीतिक समीकरणपछि नेपाली कांग्रेसले प्रदेश सरकारमा विकसित अवस्थाबारे सातै प्रदेशका नेतृत्वसँग परामर्श गरेको छ।
आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति गगन थापाले सातै प्रदेशका प्रदेश सभापति, संसदीय दलका नेता तथा कांग्रेस नेतृत्वमा सरकार रहेका प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका हुन्।
बैठकमा प्रदेश सरकारको वर्तमान अवस्था, संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षण तथा प्रदेशगत अवस्थाअनुसार सरकारमा सहभागी हुने वा प्रतिपक्षमा बस्ने विषयमा छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बताए।
बानियाँका अनुसार एमाले र नेकपाबीच भएको सहमतिपछि बनेको नयाँ राजनीतिक अवस्थाबारे सभापति थापाले सातै प्रदेशका नेतृत्वसँग परामर्श गरेका हुन्।
‘सातै प्रदेशका पार्टी सभापति, संसदीय दलका नेता र जहाँ मुख्यमन्त्री हुनुहुन्छ, त्यहाँका मुख्यमन्त्रीलाई बोलाएर पार्टी सभापतिले परामर्श लिनुभएको हो,’ बानियाँले भने, ‘संघीयता र लोकतन्त्रलाई स्वीकार गर्दै निर्वाचनमा सहभागी भएका र प्रदेश संरचनामा प्रतिनिधित्व गरेका दलबीच आवश्यकताअनुसार सहकार्य गर्ने वा प्रदेशको दलगत अवस्था हेरेर कहाँ प्रतिपक्षमा बस्ने भन्ने विषयमा छलफल भयो।’
उनले प्रदेशअनुसार राजनीतिक समीकरण र दलहरूको संख्या हेरेर सरकार सञ्चालन गर्ने वा प्रतिपक्षमा बस्ने विषयमा थप निर्णय गरिने बताए।
बागमती, मधेश र गण्डकी प्रदेशमा एमाले र नेकपाको मात्रै स्पष्ट बहुमत नपुग्ने अवस्था रहेकाले दलहरू आफूअनुकूल बहुमत जुटाउने प्रयासमा छन्। लोकतन्त्र र संघीयतालाई स्वीकार गर्दै निर्वाचनमा सहभागी भएका दलसँग संवाद र सहकार्यको सम्भावनाबारे पनि बैठकमा छलफल भएको बानियाँले बताए।