काठमाडौँ । नेपाली कांग्रेसले जननायक विपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा साउन ६ र ७ गते विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ।
यसै अवसरमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले साउन ६ गते बिहान काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ आयोजना गर्ने जनाएको छ।
कांग्रेसद्वारा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ पाँच किलोमिटर दौड आयोजना गर्न लागिएको जानकारी दिए।
उनका अनुसार दौडपछि जावलाखेल चोकस्थित फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी’ विषयमा विज्ञहरूसहित समूहगत छलफल आयोजना गरिनेछ। छलफल भइरहँदा सोही स्थानमा जलवायु परिवर्तनका चुनौती र सम्भावनालाई चित्रण गर्ने कला प्रदर्शनीसमेत गरिनेछ, जसमा चर्चित चित्रकारहरूले प्रत्यक्ष चित्र सिर्जना गर्नेछन्।
त्यस्तै, साउन ७ गते पार्टीको नयाँ अभियान घोषणा गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ। ‘ग्रीन रन’ मा सहभागी हुने व्यक्तिको संख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टी कोषबाट जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गरिने उपसभापति शर्माले जानकारी दिए। उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका वृद्धवृद्धा तथा बालबालिकाको हितमा सहयोग गरिने उनले बताए।
पत्रकार सम्मेलनमा साउन ७ गते राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति : नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने जानकारीसमेत दिइयो।
सञ्चारकर्मीको जिज्ञासामा उपसभापति शर्माले कांग्रेसको आगामी १५औँ महाधिवेशनमा सबैलाई समेटेर अघि बढ्ने प्रयास गरिने बताए। प्रदेश सरकारमा सहकार्यका विषयमा पनि छलफल भइरहेको उल्लेख गर्दै उनले कुनै पनि संसद प्रतिपक्षविहीन हुन नहुने धारणा राखे।