काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको संरचनामा युवाको सहभागिता अनिवार्य बनाइएको बताएका छन् । उनले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए ।
आइतबार ४४औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा रहने व्यवस्था गरिएको बताए ।
उनका अनुसार पार्टीको वैधानिक संरचनामै युवालाई समेट्ने व्यवस्था गरिएको छ । “प्रत्येक वडाबाट प्रतिनिधि चयन हुँदा ३० वर्षभन्दा कम उमेरका युवाको निश्चित संख्या अनिवार्य रूपमा आउने व्यवस्था गरेका छौँ,” उनले भने ।
थापाले महाधिवेशन प्रतिनिधिको संख्या २५ बाट बढाएर ३१ पुर्याइएको र त्यसमा युवा प्रतिनिधित्वलाई प्राथमिकता दिइएको बताए । नयाँ पुस्ताका नेताहरूलाई केन्द्रीय समितिसहित पार्टीका विभिन्न तहमा अवसर दिने व्यवस्था गरिएको उनको भनाइ थियो ।
“नेपाली कांग्रेसमा नयाँ साथीहरूलाई पनि ल्याउनुपर्ने छ भने पुराना साथीहरूको सम्मान पनि सँगसँगै गर्नुपर्छ । अहिले पार्टीमा चार पुस्ताका मानिसहरू एकैपटक सक्रिय छन्,” उनले भने ।
कांग्रेस सभापति थापाले पार्टीले सबै जातजाति, भाषा र समुदायलाई जोड्दै आएको उल्लेख गर्दै अब सबै पुस्तालाई समेत एकताबद्ध गर्ने राजनीतिक शक्ति बन्नुपर्ने बताए ।
उनले नेपाली कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशका विभिन्न समुदायलाई जोडेजस्तै फरक–फरक पुस्तालाई पनि जोड्ने पार्टीका रूपमा स्थापित हुनुपर्ने धारणा राखे ।