काठमाडौं । चालु वर्षको वैशाख १ गतेदेखि साउन २ गतेसम्म देशभर भएका विभिन्न विपद्जन्य घटनामा १ सय ६४ जनाको मृत्यु भएको छ । यस अवधिमा ३ हजार ३ सय ८९ वटा विपद्जन्य घटना हुँदा १ जना बेपत्ता, ९ सय ८१ जना घाइते र ४ हजार ५ सय ५ परिवार प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा सबैभन्दा बढी सर्पदंशबाट ३९ जनाको मृत्यु भएको छ । चट्याङबाट २५, लेक लागेर २१, आगलागी र वन्यजन्तुको आक्रमणबाट १७–१७ तथा हावाहुरी र पहिरोबाट १३–१३ जनाले ज्यान गुमाएका छन् । बाढीबाट १०, भारी वर्षाका कारण ४, ढुंगा पल्टेर २ तथा वन डढेलो र हिउँ पहिरोबाट १–१ जनाको मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार वैशाखयता हावाहुरीबाट सबैभन्दा बढी १ हजार ३ सय ५६ परिवार प्रभावित भएका छन् । आगलागीबाट १ हजार, सर्पदंशबाट ५ सय ३३, वन्यजन्तुको आक्रमणबाट २ सय ९६, चट्याङबाट २ सय ७५ तथा लेक लाग्ने घटनाबाट ५४ परिवार प्रभावित भएका छन् ।
साउन १ गते बिहान १० बजेदेखि २ गते बिहान १० बजेसम्म १४ जिल्लाका २२ स्थानमा पहिरो जाँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । अन्य दुई जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ । यस अवधिमा ५ जिल्लामा सर्पदंशका ६ वटा घटनामा ६ जना घाइते भएका छन् भने आगलागीका ६ वटा घटनामा १ जना घाइते भएका छन् ।
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२ वटा विपद्जन्य घटना दर्ता भएको र विपद्का कारण अनुमानित १८ लाख ५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । वर्षा र पहिरोका कारण देशका ६ वटा मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् । विपद् प्रतिकार्य तथा अवरुद्ध सडक खुलाउन नेपाल प्रहरीका १५१ जना जनशक्ति परिचालन गरिएको छ ।
मनसुन सक्रिय रहेकाले प्राधिकरणले यात्रा अघि सडकको अवस्था बुझ्न, पहिरोको जोखिम रहेका क्षेत्रमा उच्च सतर्कता अपनाउन, तराई तथा भित्री मधेसमा सर्पदंशबाट बच्न आवश्यक सावधानी अपनाउन तथा नदी–खोलाको जलस्तर बढिरहेका बेला बाढीसम्बन्धी सूचना र एसएमएस अलर्ट नियमित रूपमा पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।