काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) ले शनिबार र आइतबार देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्राधिकरणले साउन २ र ३ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । यस्तै, मधेस, बागमती तथा अन्य हिमाली र पहाडी भू–भागका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने प्रक्षेपण गरिएको छ ।
प्राधिकरणका अनुसार भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, डुबान, गेग्रान बहाव तथा नदीमा पानीको सतह अचानक बढ्ने जोखिम उच्च रहेकाले विशेष सतर्कता अपनाउन आवश्यक छ । त्यसैले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र विशेष गरी रातिको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।
जोखिमको गम्भीरतालाई मध्यनजर गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका २३ अति जोखिमयुक्त जिल्लामा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । ती जिल्लामा पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा रहेका छन् ।
प्राधिकरणले मौसमको अवस्था थप प्रतिकूल भए जुनसुकै बेला थप क्षेत्रमा पनि सवारी आवागमन रोक्न सकिने जनाएको छ ।
सम्भावित विपद्को प्रतिकार्यका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । सम्भावित सडक अवरोध तत्काल हटाउन जोखिमयुक्त राजमार्गमा डोजर, एक्साभेटर, लोडरलगायत हेभी इक्युपमेन्ट तयारी अवस्थामा राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।
यस्तै, नदी किनार, पहिरोको उच्च जोखिम भएका बस्ती तथा डुबान हुन सक्ने क्षेत्रमा बसोवास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । सर्वसाधारणलाई पनि मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन र जोखिम बढेमा सुरक्षित स्थानमा जान प्राधिकरणले अनुरोध गरेको छ ।
प्राधिकरणले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता १२३४, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बल १११४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।