काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिक अगुवा, पूर्वअर्थसचिव तथा पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रले लोकतन्त्रको नैतिक आवाज र प्रखर बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा श्रद्धाञ्जली सन्देश लेख्दै थापाले नागरिक स्वतन्त्रता, समानता, मानव अधिकार र लोकतान्त्रिक चेतनाका पक्षमा पाण्डे जीवनभर निर्भीकतापूर्वक उभिएको उल्लेख गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनका निर्णायक मोडहरूमा उनले नागरिक तहबाट संघर्षको समन्वय गर्दै निरंकुशताविरुद्ध दृढ आवाज उठाएको र नयाँ पुस्तालाई निरन्तर प्रेरित गरेको पनि थापाले बताएका छन् ।
‘डा. पाण्डेको निधनले राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व, नैतिक नेतृत्व र लोकतन्त्रको सजग पहरेदार गुमाएको छ,’ थापाले लेखेका छन् ।
थापाले अर्थसचिव, अर्थमन्त्री, विकास चिन्तक तथा सुशासनका अभियन्ताका रूपमा पाण्डेले नेपालको अर्थतन्त्र, सार्वजनिक प्रशासन र विकाससम्बन्धी बहसलाई नयाँ दृष्टि दिएको उल्लेख गरेका छन् । सार्वजनिक जीवनमा उनले देखाएको इमानदारी, पारदर्शिता र नैतिक साहस भावी पुस्ताका लागि अमूल्य विरासत रहने पनि थापाको भनाइ छ ।
सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको पक्षमा पाण्डेले निर्वाह गरेको भूमिका विशेष स्मरणीय रहेको उल्लेख गर्दै थापाले उनले जगाएको नागरिक चेतना र छाडेको बौद्धिक सम्पदाले समाजलाई सधैँ मार्गदर्शन गरिरहने विश्वास व्यक्त गरेका छन् ।
थापाले डा. पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
डा. पाण्डेको शुक्रबार साँझ काठमाडौंको विशालनगरस्थित निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनी केही समयदेखि प्याङ्क्रियाज (अग्न्याशय) को क्यान्सरबाट पीडित थिए । उनको अन्त्येष्टि शनिबार बिहान ११ बजे काठमाडौंस्थित पशुपति आर्यघाटमा गरिएको छ ।