काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा लडेर घाइते भएका छन्।
देउवानिकट स्रोतका अनुसार केही दिनअघि हङकङस्थित निवासको बाथरुममा लड्दा उनको दायाँ हात भाँचिएको हो। उपचारपछि उनलाई स्थानीय अस्पतालबाट डिस्चार्ज गरिएको स्रोतले जनाएको छ।
पछिल्लो समय हङकङमा बसोबास गर्दै आएका देउवा पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग विभिन्न स्थानमा हिँडडुल गरिरहेको भिडियो पनि बेला–बेलामा सार्वजनिक हुँदै आएका छन्।
देउवा ७ चैत २०८२ मा थप उपचारका लागि सिंगापुरबाट हङकङ पुगेका थिए। त्यसअघि उनी १३ फागुन २०८२ को राति सिंगापुर एयरलाइन्सको उडानमार्फत उपचारका लागि सिंगापुर गएका थिए।