पोखरा । भारतीय र बंगलादेशी पर्यटकको आगमन बढेसँगै पोखरामा प्याराग्लाइडिङ उडानको सुरक्षामा प्रहरीले निगरानी कडा बनाएको छ । उडानअघि पाइलटले मादक पदार्थ (मापसे) वा लागुपदार्थ (लापसे) सेवन गरे–नगरेको परीक्षण सुरु गरिएको हो ।
भारतीय पर्यटकको बाक्लो उपस्थितिका बीच केही पाइलटले नशालु पदार्थ सेवन गरेर उडान भर्ने गरेको भन्ने गोप्य सूचनापछि वडा प्रहरी कार्यालय कास्कीको टोली पोखरा–१८, सराङकोटस्थित तोरीपानी पुगेर आकस्मिक परीक्षणमा खटिएको थियो । सडकमा सवारी चालकको नियमित परीक्षण गरिएझैँ उडानको तयारीमा रहेका प्याराग्लाइडिङ पाइलटको स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) नमराज भट्टराईको नेतृत्वमा सामुदायिक सेवा केन्द्र कास्कीका पदाधिकारीसहितको टोलीले ३५ जना पाइलटको परीक्षण गरेको थियो ।
डीएसपी भट्टराईका अनुसार उडानका क्रममा हुनसक्ने मानवीय त्रुटी तथा सम्भावित दुर्घटना रोक्न विशेष चेकजाँच गरिएको हो । पर्यटकको सुरक्षालाई ध्यानमा राखेर परीक्षण गरिएको उनले बताए । पोखराको मौसम छिट्टै परिवर्तन भइरहने भएकाले पाइलटले थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ । सुरक्षित साहसिक पर्यटन गन्तव्यका रूपमा पोखराको छवि कायम राख्न यस्ता चेकजाँचलाई निरन्तरता दिइने उनले बताए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि प्याराग्लाइडिङ क्षेत्रमा समय–समयमा अनुगमन गर्दै आएको छ । विगत २५ वर्षमा टेन्डम उडानका क्रममा दुई वटा दुर्घटना भइसकेका छन् । यसले साहसिक खेलमा सुरक्षा सतर्कताको आवश्यकता अझ बढाएको सरोकारवालाको भनाइ छ ।
प्याराग्लाइडिङ पाइलट रञ्जित गौतमका अनुसार दैनिक ५ सयभन्दा बढी पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेका छन् । पर्यटन क्षेत्र जोगाउने जिम्मेवारी सबैको भएकाले सुरक्षा मापदण्ड पालना गरेर काम गर्नुपर्ने उनले बताए । यस वर्ष अपसिजनमै भारतीय र बंगलादेशी पर्यटकको आगमन उल्लेख्य रहेको उनको भनाइ छ ।
उनका अनुसार ७ हजार ५ सय रुपैयाँमा प्याराग्लाइडिङ गर्न सकिने व्यवस्था छ । उक्त शुल्कमा फोटो र भिडियोसमेत समावेश हुन्छ ।
सामुदायिक सेवा केन्द्र कास्कीका अध्यक्ष भीम पराजुलीले प्याराग्लाइडिङ क्षेत्रमा हुने असुरक्षित गतिविधिले पोखराको समग्र पर्यटनमा नकारात्मक असर पार्न सक्ने बताए । पाइलटलाई आफ्नो पेशाप्रति थप जिम्मेवार बनाउन र सुरक्षा मापदण्डको कडाइका साथ पालना गराउन सम्बन्धित निकायले नियमन प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । विगतका वर्षमा पनि यस्ता चेकजाँच हुँदै आएको उल्लेख गर्दै उनले साहसिक खेलमा दुर्घटना रोक्न नियमित अनुगमन आवश्यक रहेको बताए ।
सरोकारवालाले साहसिक खेललाई सुरक्षित, व्यवस्थित र विश्वसनीय बनाउन यस्ता छड्के परीक्षण नियमित हुनुपर्ने बताएका छन् । उनीहरूका अनुसार यसले सम्भावित दुर्घटना न्यूनीकरण गर्नुका साथै पोखराको साहसिक पर्यटनप्रतिको विश्वास थप बलियो बनाउनेछ ।