काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले तीन दिनसम्म चलेको समूहको बैठकको निष्कर्षलाई अन्तिम रूप दिन शुक्रबार शीर्ष नेताहरूको बैठक बोलाएका छन्।
खड्काको सचिवालयका अनुसार बैठक शुक्रबार दिउँसो २ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा इतर समूहका शीर्ष नेताहरू सहभागी हुनेछन्।
इतर समूहका नेता मीन विश्वकर्माले पनि बैठक बस्न लागेको पुष्टि गर्दै भने, “दिउँसो २ बजे शीर्ष नेताहरूबीच छलफल हुनेछ। तीन दिनसम्म चलेको बैठकबाट आएको निष्कर्षलाई अन्तिम रूप दिने विषयमा छलफल हुनेछ।”
संस्थापन इतर समूहको बैठक गत सोमबारदेखि बुधबारसम्म चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको थियो। उक्त बैठकमा इतर समूहको राष्ट्रिय भेला छिट्टै आयोजना गरी त्यसको मिति तय गर्नुपर्ने माग नेताहरूले उठाएका थिए। बैठकको समापनका क्रममा खड्काले शीर्ष नेताहरूसँग परामर्श गरेर राष्ट्रिय भेलाको मिति घोषणा गरिने बताएका थिए।
तीनदिने छलफलले पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्दै आपसी सहमतिका आधारमा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको थियो। यद्यपि, इतर समूहका केही नेताहरूले सहमतिका लागि नेतृत्व सकारात्मक नदेखिए वैकल्पिक रणनीतिसमेत अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।