काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गरेको छ।
सभाध्यक्ष नारायण दाहालका अनुसार चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेटसम्बन्धी विधेयक पारित गरी प्रतिनिधिसभामा पठाइएको हो।
विधेयक पारित भएपछि सभाध्यक्ष दाहालले राष्ट्रिय सभाले महत्वपूर्ण विधेयकहरूलाई संसदीय समितिमा विस्तृत छलफल गराई समितिको प्रतिवेदनसहित पारित गर्न सफल भएको बताए। उनले भने, “आज राष्ट्रिय सभाले गर्वका साथ भन्न सक्छ कि चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसदीय समितिमा छलफल गरी समितिको प्रतिवेदनसहित र दुई वटा बजेट आश्रित विधेयक सभामै छलफल गरी एकै दिन पारित गरेर प्रतिनिधिसभामा पठाउन सफल भएका छौं।”
राष्ट्रिय सभाबाट पारित भएका चार वटा अध्यादेश प्रतिस्थापन विधेयक यस्ता छन्–
१. सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक
२. सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक
३. सहकारी (पहिलो संशोधन) विधेयक
४. स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक
यसैगरी, सभाले बिहीबार नै बजेटसम्बन्धी दुई वटा विधेयक पनि पारित गरेको छ–
१. आर्थिक विधेयक, २०८३
२. राष्ट्र ऋण उठाउने विधेयक, २०८३