काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।
समितिको बिहीबार बसेको बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपसम्बन्धी उजुरीमाथि छानबिन गरेपछि उक्त निर्णय गरेको हो। समितिका सचिव दिनेश थापामगरका अनुसार अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा यादवमाथि अनुशासनात्मक कारबाही गरिएको हो।
यसैबीच, पार्टी उम्मेदवारलाई सहयोग नगरेको आरोपमा स्पष्टीकरण सोधिएका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले आफूहरूमाथि लगाइएका आरोप अस्वीकार गर्दै पार्टीविरोधी गतिविधिमा संलग्न नरहेको जवाफ पेश गरेका थिए।
उनीहरूको स्पष्टीकरण र उपलब्ध विवरणको समीक्षा गर्दै अनुशासन समितिले भविष्यमा यस्ता कुनै गुनासा नआउने गरी पार्टीको विधान, नियमावली र जिम्मेवारीप्रति पूर्ण निष्ठाका साथ काम गर्न निर्देशन दिएको जनाएको छ।
त्यसैगरी, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीबारे समितिले थप अध्ययन गरेको थियो। समितिका अनुसार राउतले पेश गरेको स्पष्टीकरण सन्तोषजनक देखिएको र उपलब्ध प्रमाणबाट आरोप पुष्टि हुन नसकेपछि उनलाई सफाइ दिने निर्णय गरिएको छ।
अनुशासन समितिले पार्टीभित्र अनुशासन र संगठनात्मक जिम्मेवारीलाई प्रभावकारी बनाउन आवश्यक कारबाही तथा निर्देशनलाई निरन्तरता दिने जनाएको छ।

