पोखरा, १५ असोज । विभिन्न चाँदीका तयारी गहनासहित पोखराबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
सोमबार दिउँसो इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरी टोलीले पोखरा-३२ मजुवामा सवारीसाधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको मिनिबसमा सवार व्यक्तिको साथबाट पाँच केजी ६९० ग्राम चाँदीका तयारी गहना भेटिएको हो ।
हाल पोखरा-९ नयाँबजार बस्ने भारतीय नागरिक ३५ वर्षीय चन्द्र भूषण प्रसादले बोकेको झोलामा बिलविजक विनाका चाँदीका गहना भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माले बताए ।
उनको साथबाट १. चाँदीका बुट्टावाला पाउजु एक सय चालिस थान, झल्लार पाउजु एक सय बयानब्बे थान, सादा पाउजु एकसय पच्चिस थान, चन्द्रमा पाँच थान, साडी पिन एघार थान र पाउजुको लक हुक चार सय अन्ठानब्बे थान बरामद भएको छ ।
पक्राउ परेका भारतीय नागरिकलाई गहनासहित थप अनुसन्धान एवं कारबाहीको लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रवक्ता शर्माले बताए ।