रौतहट, ५ असोज । रातको समयमा घरमा सुरुङ बनाएर चोरी गरेको घटनामा संलग्न एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत असार २४ गते रातीको समयमा रौतहट दुर्गाभगवती गाउँपालिका-५ बडहर्वा टोल बस्ने चन्देश्वर दास तत्मा, लक्ष्मी दास र राम नारायण साहको घरमा सेन काटी सुरुङ बनाई चोरी गरिएको थियो ।
घरमा रहेको गरगहनाहरु, लताकपडाहरु, नगद तथा मोबाईल लगाएतका सरसमानहरु चोरीमा संलग्नलाई अहिले प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीका अनुसार घटनामा संलग्न भएको अभियोगमा गरुडा नगरपालिका-९ बिर्ति श्रीपुर बस्ने अन्दाजी ३० वर्षको जिआउल हकलाई विहीबार पक्राउ गरिएको छ ।
घटनामा अन्य व्यक्तिहरू समेत संलग्न रहेको प्रहरीको भनाई छ । उनीहरूको खोजीकार्य भइरहेको डिएसपी गिरीले बताइन् ।
गौर नगरपालिका-३ बडहर्वा पुल नजिक घुमफिर गरिरहेको अवस्थामा हकलाई नियन्त्रणमा लिइएको हो ।