जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै पछिल्लो छ वर्षमा २८ हजार ८३ वटा नयाँ भवन निर्माण गरेको छ। निर्माण भएका संरचनामा विपन्न तथा दलित परिवारका आवासदेखि सरकारी कार्यालय, सामुदायिक भवन र धर्मशालासम्म छन्।
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म जनता आवास कार्यक्रमअन्तर्गत २० हजार ३७८, महेन्द्रनारायण निधि आवास कार्यक्रमअन्तर्गत दुई हजार ४१२ र विपन्नसँग मदन भण्डारी आवास कार्यक्रमअन्तर्गत चार हजार ७८ वटा आवास निर्माण भएका छन्।
त्यसैगरी, यस अवधिमा ८५६ सरकारी भवन, २९१ सामुदायिक भवन र ६८ धर्मशाला निर्माण सम्पन्न भएका छन्। मन्त्रालयका सूचना अधिकारी रोहित जोशीका अनुसार प्रदेशका आठवटै जिल्लामा आवश्यकता र प्राथमिकताका आधारमा यी संरचना निर्माण गरिएको हो।
मधेस प्रदेशका आवास कार्यक्रमको मुख्य उद्देश्य विपन्न तथा दलित परिवारलाई सुरक्षित र व्यवस्थित आवास उपलब्ध गराउनु हो। वर्षौंदेखि कमजोर र असुरक्षित घरमा बस्दै आएका परिवारले पक्की आवास पाएपछि उनीहरूको जीवनशैलीमा समेत सकारात्मक परिवर्तन आएको मन्त्रालयको भनाइ छ।
जनता आवास कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा नौ हजार ४५, २०७८/७९ मा दुई हजार ७२८, २०७९/८० मा छ हजार ३९३, २०८०/८१ मा ११५, २०८१/८२ मा एक हजार ६४८ र २०८२/८३ मा १९० वटा आवास निर्माण भएका छन्।
यसरी हजारौँ विपन्न परिवारले वर्षा, हावाहुरीलगायत प्राकृतिक जोखिमबाट सुरक्षित हुने आवास पाएका छन्। प्रदेश सरकारले आवाससँगै सरकारी कार्यालयका लागि आवश्यक भवन निर्माणलाई पनि प्राथमिकतामा राखेको छ।
आर्थिक वर्ष २०७७/७८ देखि २०८२/८३ सम्म ८५६ सरकारी भवन निर्माण सम्पन्न भएका छन्। मन्त्रालयका अनुसार २०७७/७८ मा नौ, २०७९/८० मा तीन, २०८०/८१ मा २३८, २०८१/८२ मा ३१७ र २०८२/८३ मा २८९ सरकारी भवन निर्माण भएका छन्।
सरकारी कार्यालयका आफ्नै भवन निर्माण भएपछि कार्यालय सञ्चालनमा सहजता हुनुका साथै सेवाग्राहीले पनि व्यवस्थित वातावरणमा सेवा लिन पाउने अवस्था बनेको मन्त्रालयको दाबी छ।
त्यस्तै, गाउँटोलमा विवाह, बैठक, सामाजिक कार्यक्रम तथा अन्य सामुदायिक गतिविधिका लागि आवश्यक संरचनाको मागलाई सम्बोधन गर्न प्रदेश सरकारले सामुदायिक भवन निर्माणलाई समेत प्राथमिकता दिएको छ। पछिल्लो छ वर्षमा २९१ सामुदायिक भवन निर्माण भएका छन्।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ९७, २०७८/७९ मा २७ र २०७९/८० मा १६७ सामुदायिक भवन निर्माण भएका हुन्।
विवाह, व्रतबन्धलगायत सामाजिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालनका लागि प्रदेशका विभिन्न जिल्लामा ६८ धर्मशाला पनि निर्माण गरिएको छ।
प्रदेश सरकारले भवन निर्माणलाई केवल भौतिक संरचना थप्ने कार्यका रूपमा मात्र नभई नागरिकको जीवनस्तर सुधारसँग जोडेर अघि बढाएको जनाएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रविणप्रताप अधिकारीले आधारभूत भौतिक पूर्वाधारको विकासमार्फत नागरिकलाई सहज सेवा, सुरक्षित आवास तथा सामाजिक गतिविधिका लागि आवश्यक संरचना उपलब्ध गराउने सरकारको लक्ष्य रहेको बताए।
उनले भने, “पूर्वाधार विकासलाई नागरिकको सामाजिक तथा आर्थिक समृद्धिसँग जोडेर सरकारले काम गरिरहेको छ।”