काठमाडौँ, २ भाद्र । आजदेखि साफ यू-२० च्याम्पियनसिप सुरु हुँदै छ । आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले साफ यू-२० च्याम्पियनसिपको समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ ।
यस अघि दशरथ रङ्गशाला र च्यासलस्थित स्टेडियममा हुने भनिए पनि अब समूह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो ।
आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलङ्का र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि सुरु हुने छ ।
एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रङ्गशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रङ्गशाला पनि वर्षाले हिलाम्मे रहेको छ ।
साफले दशरथ रङ्गशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्वीकृति दिएर खेल तालिका समेत जारी गरे पनि गत मङ्गलवार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बिचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रूपमा खराब भएपछि एन्फाले समूह चरणका खेलहरू एन्फा कम्प्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रङ्गशालामा हुने भएको छ ।
साफ यू-२० मा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, भारत, मालदिभ्स र भुटान गरी ६ देशले भाग लिँदै छन् । जसमा समूह ए मा नेपाल, बङ्गलादेश र श्रीलङ्का रहेका छन् भने समूह बी मा भारत, मालदिभ्स र भुटान रहेका छन् ।