कैलाली, २७ श्रावण । मानिसको मृत्यु भएर १३ दिनको पुण्य तिथि भइरहेको स्थानमा चट्याङ पर्दा १० जना घाइते भएका छन् ।
जिल्लाको बर्दगोरिया गाउँपालिका-१ उत्तरमुडा बस्ने भीम बहादुर चौधरीको घरमा १३ दिने पुण्य तिथिमा जम्मा भएका मानिसहरूलाई खाना पकाउने स्थानमा चट्याङ पर्दा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले बताए ।
‘अमट्टाको रूख मुनि टेन्ट हालेर खाना पकाउने क्रममा उक्त रुखमा चट्याङ परेर मानिस घाइते भएका हुन्’, उनले केटिएम दैनिकसँग भने ।
घाइते हुनेमा स्थानीय फिरिया देवी चौधरी, रिता देवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फुल कुमारी चौधरी, निर्मला देवी थारु र ममता थारु रहेको प्रहरी निरीक्षक कार्कीले बताए ।
घाइतेहरूलाई उपचारको लागि बर्दगोरिया अस्पताल, बौनिया लगिएको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।