धनगढी, २१ श्रावण । जिल्लामा मोटरसाइकलबाट काठ तस्करी गर्ने गरेको पाइएको छ ।
आइतबार राती धनगढी-७ देवहरिया भन्ने स्थानमा काठ तस्कर गर्नको लागि तीनवटा मोटरसाइकल प्रयोग भएको भेटिएको थियो ।
प्रहरीलाई देखेपछि तस्करहरूले मोटरसाइकल बाटोमै छाडेर भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सह-प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार बा २५ प १२२७, से २ प ९६६५ र से ६ प ३२५४ नम्बरका मोटरसाइकलमा लोड गरिएका ४२ थान (१९.८२ क्यु. फिट) साल जातका काठका कडिहरु बरामद भएको हो ।
बरामद मोटरसाइकलसहित काठको अनुमानित मूल्य एक लाख ७४ हजार १३३ रहेको प्रहरी निरीषक कार्कीले बताए ।
बरामद भएका मोटरसाइकल र काठ आवश्यक कारबाहीको लागि सब-डिभिजन वन कार्यालय तारानगर कैलाली पठाइएको छ भने मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।