
तुलसीपुर (दाङ) । श्रीमतीलाई रडले हानेर हत्या गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्लाको राजपुर गाउँपालिका-१ रसरी बस्ने ३८ वर्षको गणेश घर्तीले आफ्नो श्रीमती सोही उमेरकी बसन्ती घर्तीलाई रड प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राम प्रसाद तिमल्सिनाका अनुसार घटना आइतबार रातीको समयमा भएको हो ।
आज बिहान अबेरसम्म पनि घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय गढवा र प्रहरी चौकी बेलाबाट खटिएको टोलीले ढोका फोडेर हेर्दा श्रीमती मृत फेला परेकी थिइन् भने श्रीमान् सोही कोठामा थिए ।
घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको रड सहित मृतकका श्रीमान गणेश घर्तीलाई नियन्त्रणमा लिएको डिएसपी तिमल्सिनाले बताए ।
स्थानीयका अनुसार गणेश घर्ती दिनहुँ मादक पदार्थ सेवन गर्ने हुँदा घरमा झगडा परिरहन्थ्यो ।
मृतक महिलाको शव पोस्टमार्टमको लागि लमही अस्पताल लगिएको छ भने नियन्त्रमा लिइएका व्यक्तिउपर कर्तब्य ज्यान कसुरमा अनुसन्धान भइरहेको छ ।