काठमाडौं ।स्थानीय बजारमा सुनचाँदीको मूल्यमा पुनः ठूलो गिरावट आएको छ । बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेर तीन हजार ४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला तीन हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि लगातार घटिरहेको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लागेको थियो । आइतबारको तुलनामा सोमबार सुन प्रतितोला चार हजार ८०० रुपैयाँले बढेको थियो भने मंगलबार थप ५०० रुपैयाँले वृद्धि भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य सोमबार प्रतितोला ४५ रुपैयाँ र मंगलबार ३५ रुपैयाँले बढेको थियो । तर, बुधबार भने दुवै धातुको मूल्यमा पुनः गिरावट आएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । गोल्ड प्राइस अनलाइनका अनुसार बुधबार सुनको मूल्य प्रतिऔंस १०० अमेरिकी डलरले घटेर तीन हजार ५४९ डलर कायम भएको छ । यस्तै, चाँदीको मूल्य प्रतिऔंस दुई डलरले घटेर ४० डलरमा झरेको छ ।