लुम्बिनी । लुम्बिनीस्थित मायादेवी मन्दिर छेउमा सञ्चालन हुँदै आएको मुण्डन संस्कारलाई व्यवस्थित र सहज बनाउन लुम्बिनी विकास कोषले पहल अघि बढाएको छ ।
लुम्बिनी गुरुयोजनाअन्तर्गतको पवित्र उद्यान क्षेत्र संरक्षित स्मारक क्षेत्रमा पर्ने भएकाले यहाँ निर्माण तथा विकासका काम गर्दा निर्धारित प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
स्थानीय समुदायमा प्रचलित मुण्डन संस्कारका लागि छुट्याइएको स्थानसम्म पुग्ने बाटो र पार्किङ निर्माणमा भएको ढिलाइबारे कोषका सदस्य सचिव इन्जिनियर सन्तोष पाण्डेयले सम्बन्धित पक्षसँग जानकारी लिएका छन् ।
कोषले उक्त बाटो तथा पार्किङ निर्माण कार्य शीघ्र सम्पन्न गरी आगन्तुक र सेवाग्राहीलाई सहज आवागमनको व्यवस्था मिलाउने जनाएको छ ।
त्यस्तै, हाल मुण्डन संस्कार हुँदै आएको स्थानमा आवश्यक टहरा निर्माण, शौचालयको व्यवस्था, सरसफाइ तथा सुरक्षा प्रबन्ध पनि कोषले मिलाउने भएको छ ।
धार्मिक तथा सांस्कृतिक परम्पराको सम्मान गर्दै पवित्र उद्यान क्षेत्रको ऐतिहासिक सम्पदा संरक्षण र व्यवस्थापनलाई समेत प्राथमिकतामा राखेर मुण्डन संस्कारलाई व्यवस्थित बनाउने कोषको उद्देश्य रहेको छ ।


