
काठमाडौं । स्रोत नखुलेको नेपाली नगद रुपैयाँसहित महोत्तरीबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
मंगलबार (हिजो) दिउँसो २:१५ बजे जिल्लाको मनरा शिसवा नगरपालिका-३ स्थित सुनौल ग्रामिण सडक खण्डबाट ती व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक अन्दाजी वर्ष ३६ को विनय साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले बताए ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी ईटहर्वाकट्टीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उनी सवार मोटरसाइकलमा उक्त रकम बरामद भएको हो ।
प्रहरीका अनुसार बीआर३०एस-८५८९ नम्बरको प्लाटीना मोटरसाइकलको सिटीमुनी लुकाएर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको रकमसहित उनी पक्राउ परेका हुन् ।
उनको साथबाट नेपाली नोट एक हजार दरको १५०० वटा, पाँच सय रुपैयाँको १९०० वटा र एक सय रुपैयाँको ६०० वटा गरी कूल पच्चिस लाख १० हजार रुपैयाँ बरामद भएको डिएसपी गिरीले बताए ।
प्रहरीले उक्त नगद रुपैयाँ, उनी सवार मोटरसाइकल र ती व्यक्तिलाई थप अनुसन्धान एवं कारबाहीको लागि जलेश्वर भन्सार कार्यालय, मलिवारा पठाउने प्रकृया सुरू गरेको जनाएको छ ।
सोमबार मात्रै महोत्तरी प्रहरीले २६ लाख बिस हजार नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
यसअगाडि पनि भारतीय सीमा रहेका जिल्लाहरूबाट ठुलो परिणाममा स्रोत नखुलेको नेपाली रकम बरामद हुँदै आइरहेको छ ।