
महोत्तरी । स्रोत नखुलेको नेपाली रुपैयाँ नगद रु २६ लाख २० हजारसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
आज बिहान ८:३० बजे मटिहानी नगरपालिका-३ प्रतापि बाबा मन्दिर अगाडिबाट उक्त रकमसहित एक भारतीय नागरिक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत विहार राज्यको मधुवनी ग्रामपंचायत मधवापुर-४ बस्ने अन्दाजी वर्ष २६ को सुमित साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक दिलीप कुमार गिरीले केटिएम दैनिकलाई बताए ।
नेपाली नम्बर प्लेटको मोटरसाइकलमा सवार उनको साथबाट नगद रुपैयाँ भेटिएको हो ।
प्रहरीका अनुसार ज१२प १६४४ नम्बरको मोटरसाइकलको सिटमुनी नगद लुकाई छिपाइ ल्याइरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी धिरापुरबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उक्त रकम हुन्डीको हो भन्ने प्रश्नमा प्रवक्ता गिरीले भने, ‘अहिले नै हुन्डी भनिहाल्ने अवस्था छैन । पक्राउ परेका व्यक्तिले उक्त रकमको स्रोत खुलाउन सकेका छैनन् र खुलाउने अवस्था पनि देखिँदैन ।’
पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीको लागि राष्ट्रिय अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
भोली (मङ्गलवार) उनलाई राष्ट्रिय अनुसन्धान कार्यालय पठाइने प्रवक्ता गिरीले बताए ।
यसअगाडि पनि भारतीय सीमा रहेका जिल्लाहरूबाट ठुलो परिणाममा स्रोत नखुलेको नेपाली रकम बरामद हुँदै आइरहेको छ ।