
विराटनगर । मोरङ विराटनगर महानगरपालिका–१२ गराहा टोलमा बस्ने २२ वर्षीया सुष्मादेवी रायको मृत्यु रहस्यमय भएकाले आत्महत्या नभई हत्या भएको माइती पक्षले आरोप लगाएको छ । दुई सन्तानको आमा रहेकी सुष्मा आइतबार बिहानमा घरमै मृत अवस्थामा फेला परेकी हुन् ।
सुष्माले घरमै झुण्डिएर आत्महत्या गरेको भन्दै ससुराल पक्षले उनको शव खाटमा राखिएको अवस्थामा माइती पक्षलाई खबर गरेको थियो । माइतीपक्षले भने सुष्माले झुण्डिएर आत्महत्या गरेको नभई हत्या गरिएको आशंका गरेको छ ।
सुष्माका काका सन्तोष रायले श्रीमानको कुटपिटबाट उनको ज्यान गएको हुन सक्ने आशंका गरे । उनका अनुसार २३ वर्षीय पति सुरज शर्माले ०८० साउन ६ गते कुटपिट गरेको भन्दै सुष्मा विराटनगर महानगरपालिका–१२ सैनिकटोलस्थित माइती घर आएकी थिइन् । आफूहरूले सम्झाएर घर पठाएको २४ घण्टा नबित्दै सुष्माले आत्महत्या गरेको खबर पाएको उनले बताए ।
भाजितीको घर साउन ७ गते बिहान २ बजे पुग्दा लासलाई खाटमा राखिएको अवस्थामा फेला परेको बताउँदै उनले भने, ‘हामी पुग्दा शव खाटमै थियो । तर उनीहरूले भने सुष्माले झुण्डिएर आत्महत्या गरेको देखेपछि आफूहरूले डोरी काटेर खाटमा लासलाई राखेको भन्ने दाबी गरे । त्यो उनीहरूको दाबीमात्र हो । आत्महत्या नभई यो हत्या हो ।’
पीडित पक्षले आरोपित सुरजविरूद्ध जिल्ला प्रहरी कार्यालयमा आइतबार नै मौखिक उजुरी दिएको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेलले झुण्डिएको लासको डोरी काटेपछि उपचारका लागि अस्पताल लैजानु पर्नेमा घरमै राखिएकाले घटना शङ्कास्पद रहेको बताए ।
पीडित पक्षले आरोपितविरूद्ध मौखिक उजुरी दिएको भएपनि शवको पोष्टमार्टम रिपोर्ट र भिसेरा रिपोर्टपछि मात्र कानुनी कारबाही अघि बढाउने एसपी पोखरेलले बताए ।
शवको पोष्टमार्टम आइतबार नै कोशी अस्पताल, विराटनगरमा गरिएको छ । रिपोर्ट आएपछि यसबारे थप स्पष्ट हुने एसपी पोखरेलको भनाइ छ ।
घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय मोरङका मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक र वडा प्रहरी कार्यालय मोरङका डिएसपी विजय श्रेष्ठको नेतृत्वको टोलीले गरिरहेको छ ।
सुष्माको चार वर्षअगाडि सुरज शर्मासँग विवाह भएको थियो । प्रेम विवाह गरेका उनीहरूका तीन वर्षको छोरी र छ महिनाको छोरा छन् ।
पीडित पक्षले हिजै शव बुझेर विराटनगर महानगरपालिका–१२ स्थित सैनिक टोलमा सद्गत गरेको छ ।