माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएको भन्दै अहिले टिकटकमा एउटा भिडियो भाइरल भएको छ । @shahilbhandari08 नामक टिकटक प्रयोगकर्ताले गत जेठ १३ गते भिडियो क्लिप पोस्ट गर्दै लेखेका थिए, “एसईईको नतिजा सार्वजनिक ।” करीब १० सेकेण्डको उक्त भिडियोमा एउटा समाचारको क्लिप छ । जेठ १८ गतेसम्म भिडियो २१ लाख बढी पटक हेरिएको छ भने ७५ हजार भन्दा बढी लाइक र २७०० भन्दा बढी पटक सेयर गरिएको छ ।
भिडियोमा एक महिलाले वाचन गरेको समाचारमा भनिएको छ:
“परीक्षा नियन्त्रण कार्यालयद्वारा एसईईको नतिजा सार्वजनिक । १६ हजारले ल्याए ‘ए प्लस’ । त्यसतलको ग्रेड ल्याउने पुरक परीक्षामा सहभागी हुनसक्ने ।”
उक्त टिकटक पोस्टमा आएका प्रतिक्रियामध्ये अधिकांशले त्यो भिडियो पुरानो भएको बताएका छन् ।
तथ्य जाँच
हामीले तथ्य जाँचका लागि सर्वप्रथम ती किवर्ड प्रयोग गरी गुगलमा खोज्यौँ । तर उक्त भिडियो फेला परेन । त्यसपछि हामीले समाचारमा भनिएका तिनै शब्द राखेर फेसबुकमा खोज्यौँ । फेसबुकमा एकमुष्ट खोज्दा नभेटिएपछि भिडियोमा क्लिक गर्यौँ । त्यसपछि सो समाचार नेपाल टाइम्स नामक अनलाइनको फेसबुक पेजमा २०७६ साल असार १२ गते पोस्ट गरिएको फेला पर्यो । सो मितिलाई पछ्याउँदै हामीले नेपाल टाइम्सको युट्युब च्यानमा सो भिडियो फेला पर्यो । समाचार वाचिका रश्मिता उदासले टप फिफ्टीन नामक कार्यक्रममा उक्त समाचार वाचन गरेकी थिइन् । त्यस्तै २०७६ साल असार १२ गते नागरिक बहस अनलाइनमा पनि सोही समाचार प्रकाशित भएको थियो ।
नेपाल टाइम्सको युट्युब च्यानमा राखिएको भिडियो ५ मिनेट लामो छ । तर त्यसलाई काँटछाँट गरी सन्दर्भ लुकाई भाइरल बनाइएको छ । झण्डै ४ वर्ष अघिको समाचार प्रयोग गरी भिडियो फैलाइएको भिडियो भ्रामक रहेको हाम्रो निष्कर्ष छ ।
२०७९ सालमा भएको एसईई परीक्षाको नतिजा आउन बाँकी नै छ ।
एसईई परीक्षाको नतिजा आएको भन्दै टिकटक प्रयोगकर्ताले गरेको दाबी भ्रामक रहेको पाइएको छ ।
यो सामाग्री नेपाल चेक डट ओआरजीले उत्पादन गरेको हो ।