काठमाडौं ।
एक साता अघि धरान उपमहानगरपालिका वडा नं ११ मा गोरुको मासु खाँदै गरेको भिडियो भाइरल भएको थियो । त्यसमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । सो घटना पछि त्यहाँको सद्भाव खबल्बलिने सम्भावना भएको भन्दै स्थानीय प्रशासनले गत भदौ ८ गते र्याली वा भेला नगर्न निषेधाज्ञा जारी गरेको थियो ।
यसै सन्दर्भमा गत भदौ ९ गते गौ हत्याको विरुद्ध सद्भाव र्यालीको आयोजना गरिएको थियो । विभिन्न जिल्लाबाट इटहरीमा भेला भई धरानतिर बढेको बिशाल र्यालीलाई प्रहरीले सुनसरीको तरहराबाट अघि बढ्नबाट रोकेको थियो । त्यसका लागि भदौ ९ गते विहानैदेखि इटहरीलाई धरानसँग जोड्ने सडकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
भदौ ९ गतेदेखि सोही र्यालीको तस्बिर र भिडियो भन्दै एउटा सामग्री सामाजिक सञ्जालमा भाइरल छ । यो सामग्री एक्स, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा फैलिएको छ । कतिपयले इटहरीमा भएको र्यालीको तस्बिर सहित उक्त भिडियो फोटो सेयर गरेका छन् भने कतिले धरानको जनलहर भन्दै फोटो पोस्ट गरेका छन् ।
भाइरल फोटोमा गेरु रंगका पोसाक लगाएका सयौँको संख्यामा र्यालीमा सहभागी भएको देखिन्छ । उक्त तस्बिरमा ध्वजा पताका देखिन्छ भने सडक छेउमा आकाशे नीलो रंगको पक्की घर प्रष्ट देखिन्छ ।
नेपाल चेकको तथ्य जाँचमा त्यो सामग्री दुई महिना अघि वीरगञ्जमा भएको र्यालीको फेला परेको छ ।
तथ्यजाँच विधी
तथ्य जाँचका लागि हामीले सबैभन्दा पहिला उक्त फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्यौँ । त्यस क्रममा हामीले हमार वीरगञ्ज नामक अनलाइनले सोही तस्बिर गत असार ५ गते प्रकाशित भएको पायौँ । उक्त समाचारमा सो र्याली वीरगञ्जको माइस्थानस्थित गहवामाई मन्दिरको ११ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको उल्लेख छ ।
समाचारमा उक्त र्यालीमा पर्सा जिल्लाका साथै छिमेकी बारा, रौतहट अनि भारतबाट समेत भक्तजन सहभागी भएको उल्लेख छ ।
त्यसको थप पुष्टि गर्नका लागि हामीले स्थानीय अनलाइन र समाचार पत्रका साइटमा उक्त र्यालीसम्बन्धी समाचार खाज्यौँ । वीरगञ्ज सञ्जाल नामक अनलाइनमा पनि सो फोटो वीरगञ्जमा दुई महिना अघिको रथयात्राको भएको जनाइएको छ । त्यस्तै वीरगञ्जको प्रतीक डेलीमा पनि सो रथयात्राको समाचार प्रकाशित छ ।
हामीले गरेको तथ्य जाँचमा उक्त सामग्री गत भदौ ९ गते धरानमा आयोजना गरिएको धार्मिक र्यालीको नभई दुई महिना अघि वीरगञ्जमा भएको रथयात्राको भएको फेला परेको छ । तसर्थ सामाजिक सञ्जालमा भाइरल उक्त सामग्री भ्रामक छ ।
यो सामाग्री नेपाल चेक डट ओआरजीले उत्पादन गरेको हो ।