कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको भन्दै अहिले टिकटकमा एउटा भिडियो भाइरल भएको छ । @pradipbasnet71 नामक टिकटक प्रयोगकर्ताले गत फागुन २९ गते भिडियो क्लिप पोस्ट गर्दै लेखेका थिए, “नेपालमा फेरि बढ्यो कोरोना । चैत्र १० गतेदेखि लकडाउन गर्ने तयारी हुँदै । सबैजनाले माक्स लगाउन नेपाल सरकारको आग्रह ।”
उक्त भिडियोमा गाडी गुडिरहेको बाटोको भिडियो रहेको छ । चैत्र ७ गते सम्ममा सो भिडियो ७ लाख २३ हजार बढी पटक हेरिएको छ भने १८ हजार भन्दा बढी लाइक र ७ सय भन्दा बढी पटक सेयर गरिएको छ ।
भिडियोमा एक महिलाले वाचन गरेको समाचारमा भनिएको छ:
“कोरोना सङ्क्रमण फेरि बढ्न थाल्यो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८५८ जनाको नमुना परीक्षण मध्ये १४ जनामा सङ्क्रमण पुष्टि, सक्रिय सङ्क्रमित २७ पुगे । बिहीबार १३,३३८ जनाले खोप लगाए ।”
सोही टिकटकमा पहिलो पटक @alamarif22 ले पुस १५ गते पोस्ट गरेका थिए । सो भिडियोमा नेपाल टाइम्स अनलाइनको युट्युब च्यानलमा प्रसारण हुने टप फिफ्टी कार्यक्रममा एक महिलाले समाचार वाचन गरेकी छन् । सो युट्युब च्यानल विराटनगरस्थित नेपाल टाइम्स अनलाइनको भएको पाइएको छ ।
करिब ३ महिना अघि प्रथम पटक पोस्ट भएको टिकटक भिडियोको आवाजलाई प्रयोग गरी @pradipbasnet71 नामक टिकटक प्रयोगकर्ताले बनाएको भ्रामक भिडियो सामग्रीसम्बन्धी तथ्य नेपाल चेकले जाँच गरेको छ ।
तथ्य जाँच
सो समाचार नेपाल टाइम्सको पुस १४ गते युट्युबमा पोस्ट भएको थियो । समाचार वाचिका रश्मिता उदासले टप फिफ्टी नामक कार्यक्रममा उक्त समाचार वाचन गरेकी थिइन् (भिडियोमा सम्बन्धित समाचार ४ मिनेट ४५ सेकेण्डदेखि ४ मिनेट ५७ सेकेण्डसम्म छ)। त्यस्तै पुस १४ गते अनलाइनखबरमा पनि कोरोना संक्रमणसम्बन्धी सोही समाचार प्रकाशित भएको थियो ।
उक्त भ्रामक भिडियो पुस १५ गते @alamarif22 नामक टिकटकले पोस्ट गरेको थियो । पुस १५ गते पोस्ट भएको भिडियोको समाचारलाई प्रयोग गरी @pradipbasnet71 नामक टिकटक प्रयोगकर्ताले फागुन २९ गे आफ्नो अकाउन्टबाट सडकको भिडियो सहित पोस्ट गरे । उनले चैत्र १० गतेदेखि लकडाउन हुने गलत विवरणसहित भिडियो पोस्ट गरेका थिए । झण्डै ३ महिना अघिको समाचार प्रयोग गरी भिडियो फैलाइएको भिडियो भ्रामक रहेको नेपाल चेकको निष्कर्ष छ । हाल सरकारले लकडाउन सम्बन्धी कुनै सूचना जारी गरेको छैन ।
यो सामाग्री नेपाल चेक डट ओआरजीले उत्पादन गरेको हो ।