संघीयता कार्यान्वयन भएपछि नेपालमा दुई पटक प्रदेश सभाको निर्वाचन भइसकेको छ । पहिलाे प्रदेशसभाको तुलनामा यसपालीको प्रदेशसभामा महिला प्रतिनिधित्व प्रतिशतका आधारमा बढेको देखिएपनि यसपटक प्रत्यक्ष निर्वाचित महिलाको संख्या भने घटेको छ । यसअघिको प्रदेशसभामा सातैवटा प्रदेशमा पुरुष सभामुख बनेका थिए भने यसपालि प्रदेशसभाको इतिहासमा पहिलाेपटक कर्णाली प्रदेशमा महिला सभामुख बनेकी छन् । नेकपा एमालेबाट समानुपातिक प्रतिनिधित्व गर्दै कर्णालीबाट चुनिएकी नन्दा गुरुङ नेपालको प्रदेशसभाको इतिहासमा पहिलाे महिला सभामुख बनेकी हुन् । सभामुख गुरुङसँग गरेको प्रश्नाेत्तरको सम्पादित अंश ।
प्रदेशसभाको इतिहासमा पहिलाेपटक महिला सभामुखका रुपमा निर्वाचित हुनुभएको छ । प्रदेशसभाको समामुख बन्छु भनी साेच्नुभएको थियो ?
सभामुख हुन्छु भनेर साेचेको त थिइन । प्रदेशको सांसद हुन्छु भन्ने त थाहा थियो । तर सभामुख हुन्छु भनेर चाहिँ साेचेको थिइन । अवसर आयो, अवसरलाई मैले स्विकारेँ । म प्रदेशसभाको इतिहासमा पहिलाे महिला सभामुख बनेकी छु । यसमा मलाई गाैरव छ ।
तपाईको राजनीतिक यात्राको बा रे मा बताइदिनु न ? कसको प्रेरणाले किन लाग्नुभयो राजनीतिमा ?
मुलुक र समाज परिवर्तन गर्ने नीतिहरुको माउ नीति भनेको राजनीति हाे । मुलुक र समाज परिवर्तनका लागि नै राजनीतिमा लागेको हाे म पनि । विद्यार्थीकालमा एकजना दाइ हुनुहुन्थ्यो । उहाँले सात-आठ क्लास पढ्दैदेखि अनेरास्ववियुको बैठकहरुमा लैजानुहुन्थ्यो । मेराे आफ्नै दाइ पनि पार्टीको मिटिङहरुमा जाने गर्नुहुन्थ्यो । दाइसँग राजनीतिक भेटघाट तथा बैठकहरुमा सँगै जान्थे । उहाँहरुका कुरा सुन्थेँ । त्यसाे गर्दा ममा पनि राजनीतिक चेतना जागृत भएको थियो । पछि विवाह भएर सुर्खेत आएँ । विवाह भएपछि पनि कुनै राजनीतिक भेटघाट छ भन्ने थाहा पाउँदा म लुकेर भएपनि जान्थेँ । पछि परिवारका सदस्यहरुले लुकेर गएको थाहा पाएपछि लुकेर किन हिँड्नुपर्यो र राजनीति नै गर्ने साेँच हाे भने खुलेरै हिँड्ने भन्नुभयो ।
२०४७/४८ सालदेखि त म खुलेरै पार्टी राजनीतिमा लागेँ, प्रारम्भिक कमिटीहरुमा बसेँ । २०५४ सालमा म महिला वडा सदस्य नै भएँ । त्यसपछि पार्टीको गाउँ कमिटीको सदस्य, इलाका कमिटीको सदस्य, क्षेत्रीय कमिटिको सदस्य हुँदै सुर्खेत जिल्ला कमिटीमा दुई कार्यकाल बसेँ । अखिल नेपाल महिला संघमा पनि म पाँच अवधि बसेँ जिल्ला कमिटीमा । २०५५ र २०६० सालको बीचमा युवासंघमा पनि दुई कार्यकाल जिल्ला कमिटी सदस्य भएँ ।
सभामुख हुने बेलासम्ममा म पार्टीको प्रदेश कमिटीको सदस्य, अनेमसंघको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य थिएँ । अहिले त पार्टीका सबै पदको जिम्मेवारीबाट बाहिर छु । सानै उमेरमा राजनीतिक रुपमा सचेत हुने माैका पाएँ । देश र समाज परिवर्तन गर्छु भन्ने साेचले नै राजनीतिमा लागेको हाे ।
राजनीतिमा लाग्दा महिला भएकै कारण के कस्ता समस्या भाेग्नुभयो ?
राजनीतिमा लागेका महिलालाले धेरै संघर्ष गर्नुपर्छ भन्ने त सबैलाई थाहा भएकै कुरा हाे । हिजाे चुलाे चाैको गरेर बसेका महिलाहरु बाहिर निस्केर पुरुषसँग प्रतिस्पर्धा गर्न त गाह्रै छ नि । त्यो हिजाे पनि थियो र आज पनि छ । त्यसमाथि पनि म त २०५४ सालमै एकल महिला भएँ । छाेरा छाेरी थिए । कतै हिँड्दा महिलामाथि विभिन्न खालका आक्षेपहरु लाग्ने गर्थे । राजनीति गर्दा दिन रात नभनी हिँड्न पर्थ्यो । महिलाहरु राती हिँड्दा त नैतिकताकै प्रश्न पनि उठ्ने गर्थ्यो । त्यो अहिले पनि छ । यस्ता हरेक खालका संघर्ष गर्नुपर्यो नि । हाम्राे पितृसत्तात्मक साेचले महिलालाई गर्ने सबै खालका अवमूल्यनसँग संघर्ष गर्दै अगाडि बढेको हाे ।
अर्को कुरा, आर्थिक समस्या पनि त्यत्तिकै भाेग्नुपर्यो । आफ्नाे कमाइ नहुने, घरबाट बाहिर निस्केपछि पैसा नै चाहिने । मेराे राजनीतिक संघर्ष अनुसार यस्ता अवसरहरु त मैले पहिले नै पाउनुपर्ने हाे जस्ताे लाग्छ । पार्टीभित्र पनि अनेक समस्याहरु हुने गर्छ । पार्टीले मलाई अवसर दिएन भनेर त म भन्दिनँ । यसपालिको प्रदेशसभा निर्वाचनमा म आफैले स्वास्थ्यका कारण प्रत्यक्ष निर्वाचन लड्न सक्दिँन भनेर समानुपातिकमा बस्छु भनेको हाे ।
राजनीतिमा महिला सहभागीता निकै कम हुनुको प्रमुख कारणहरु के हुन् ? राजनीतिमा महिला सहभागिता बढाउन के भूमिका खेल्नुहुन्छ ?
कारण त विभिन्न हुनसक्छ । आर्थिक हुनसक्छ । महिलाहरु शैक्षिक रुपमा नै पछाडि परेको हुँदा उनीहरुले कमाउने, जागिर खाने भन्ने कम नै हुन्छ । पहिला त झन् यो निकै कम नै हुन्थ्यो । उनीहरु घरधन्दामा नै सीमित हुने । राजनीति गर्ने भएपछि घरबाहिर त निस्कनै पर्यो । निस्केपछि पैसा त खर्च भैहाल्ने ।
अर्को कुरा हाम्राे सामाजिक संरचना हुनसक्छ । अहिले पनि महिलाहरु बाहिर हिँड्ने, सामाजिक मुद्दाहरुमा महिला अधिकारका लागि आवाज उठाउँदा ‘पाेथी बास्यो’ भन्ने चलन छ । केही महिलाहरुलाई पारिवारिक समस्या हुन्छन् । यी सबैको केन्द्रमा त फेरि हाम्राे समाजको पितृसतात्मक साेच छ । मुख्य कारण भनेको पितृसतात्मक साेच र त्यसले सिर्जना गरेका अवराेधहरु नै हुन् भन्ने लाग्छ ।
हामीसँग महिला हक अधिकारका लागि बनेका कानूनहरु छन् । ती कानूनहरुलाई जति सक्दाे प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानपर्छ भन्ने लाग्छ । स्राेत साधनमा पनि महिलाको पहुँच हुनुपर्छ । महिलालाई पछाडि देख्ने र पार्ने संरचनागत समस्याहरुको पनि समाधान हुनुपर्छ ।
उदाहरणका लागि महिलाद्वेषी उखान टुक्कालाई नै हेराैँ न । यस्ता कुराहरुले पनि जानेर नजानेर महिलाहरुको क्षमतालाई अवमूल्यन गरिरहेका हुन्छन् । यी चिजहरुको पनि अन्त्य हुनु आवश्यक छ । अर्को कुरा, महिलाहरुको क्षमता विकास गर्नु पनि उत्तिकै जरुरी छ । त्यसका लागि महिलालाई अवसर दिनुपर्यो । पार्टीहरुका विधान महिला सहभागीतामैत्री हुनुपर्यो । खुला बनाउनुपर्यो । त्यो भयो भने महिला सहभागिता बढेर जान्छ भन्ने लाग्छ । अहिले संविधानमै ग्यारेन्टी भएर वडामा दुई जना महिला सदस्य त हुनुहुन्छ नि । विधि बनाउन सक्दा त हुनेरैछ । पहिलेको तुलनामा त अहिले राम्रै छ भन्नुपर्छ । तर हामीले कल्पना गरेजस्ताे त अझै भएको छैन ।
अर्को कुरा, महिलाहरु पनि सचेत र जागरुक हुनुपर्यो । नीतिगत तहबाटै अवसरको ढाेका खाेल्न पर्यो । दाेस्राे कुरा, महिला आफैँ अग्रसर हुनुपर्यो । अर्काले हात तानेर लगेर यहाँ बस्नाेस् भनेर मात्रै त हुँदैन । अहिलेको परिस्थति अनुसार आफू सचेत हुन पर्यो, मेराे स्थान यो हुनुपर्छ, मैले यो गर्न सक्छु भनेर बाेल्न सक्नुपर्यो । अहिले प्रविधिको युग छ, यससँगै घुलमिल हुन सक्नुपर्यो । आर्थिक अवस्था राम्राे भएन भने महिलाहरु सबै हिसाबले पछाडि पर्छन् । शिक्षित हुनुपर्यो । प्रविधिसँग जाेडिनु पर्यो । आफैँ सचेत र अग्रसर हुनुपर्यो । यसमै काम गर्ने हाे ।
समावेशी संविधान जारी भइसकेपछि भएका दुवै प्रादेशीक निर्वाचनमा कर्णाली प्रदेशबाट एकजना महिला पनि प्रत्यक्ष निर्वाचित हुन सकेनन् । किन ? निर्वाचन लड्नका लागि महिला उम्मेदवारहरुलाई कस्ता समस्या हुने गर्छन् ?
त्यो हाे । एकजना पनि महिला निर्वाचित हुन नसक्नु भनेको सबै पार्टीहरुले अवसर नदिएर नै हाे भन्ने लाग्छ । कसैले मैले सक्दिन भन्नुभएको छ भने त्यो मलाई थाहा भएन । तर सबै पार्टीहरुको हेर्दा पार्टीले नै अवसर दिएनन् भन्ने लाग्छ । पुरुष उम्मेदवारको तुलनामा महिला उम्मेदवार पनि बढी हुन्थे भने त कोही न कोही महिला त निर्वाचित हुन्थे हाेलान् नि । यसमा त अवसर कै कमी हाे ।
महिलाहरुले प्रतिस्पर्धा गर्ने हिम्मत चाहिँ गर्नैपर्छ । महिलाहरुसँग अहिलेको अवस्थामा त आर्थिक कारण नै मुख्य हाे भन्ने लाग्छ । निर्वाचन कत्ति खर्चिलाे हुन्छ भन्ने त सबैलाई थाहा छ । राजनीतिमा लागेका महिलाहरुलाई आर्थिक समस्या छ । अहिले वडाध्यक्षकै उम्मेदवारले २५ देखि ३० लाख खर्च गर्छन्। महिलाहरुले त्यत्राे पैसा कहाँबाट ल्याउने? अर्को कुरा मैले निर्वाचन प्रचारप्रसारमा हिँड्दा अनुभव गरेको, पुरुषलाई जतिबेला पनि बेला हुने । पुरुषहरु रात-बिरात, जहिले, जहाँ, जसरी हिँडेपनि उहाँहरुलाई केही समस्या नहुने । महिलाको हकमा चाहिँ दिनमा त हिँड्ने भयो । निर्वाचनका बेला त २४सै घण्टा खट्नुपर्यो नि, रणनीति बनाउनु पर्यो । तर त्यसका लागि महिलाहरुले समय नै पाउँदैनन् । रात परेपछि चाँहि हिँड्न नपाउने, रातको समय महिलाहरुको लागि कुबेला हुने भयो । राती राती हिँड्दा चरित्रमाथि प्रश्न चिन्ह खडा हुन्छ । यस्ताे भन्दा एउटै कुरा दाेहाेरिएको जस्ताे लाग्न सक्छ तर यो यथार्थ हाे ।
पहिलाे कुरा अवसर नदिइने, अवसर पाइहाले पनि भड्किलाे चुनाव प्रणाली र अर्को कुरा त फेरि हाम्राे महिलाद्वेषी सामाजिक संरचना नै हाे । यिनै कारणहरुले प्रत्यक्ष निर्वाचन लड्न सकिरहेका छैनन् भन्ने लाग्छ मलाई ।
पछिल्लाे समय नेपालमा तटस्थता कायम गर्न नसकेको भनी सभामुखको भूमिकामाथि प्रश्न पनि उठ्ने गरेको छ । सभामुखको हैसियतमा प्रदेशसभामा तटस्थता कायम गर्न के गर्नुहुन्छ ?
म पार्टी राजनीतिबाटै सभामुखको जिम्मेवारीसम्म आएको हाे यो यथार्थ हाे । तर सभामुख भइसकेपछि म पार्टीका जिम्मेवारीबाट अलग भइसकेको छु । अब मैले संविधान र प्रचलित कानूनको अधिनमा रहेर इमानदारिताका साथ सभामुखको भूमिका निर्वाह गर्ने हाे । प्रदेश संसद सचिवालयको कार्यविधिअनुसार काम गर्ने हाे । प्रदेशसभामा जति पनि राजनीतिक दलको उपस्थिति छ, उहाँहरु सबैसँग सहकार्य गर्छु । सरकारले ल्याएका विधेयकहरुमाथि निष्पक्ष ढंगले छलफल गराउने वातावरण मिलाउँछु । सभामुखको जिम्मेवारी र पार्टीको जिम्मेवारी फरक हाे र फरक ढंगले निभाउनुपर्छ भन्ने मलाई हेक्का छ । प्रदेशसभाभित्र त म सबैको साझा हाे । त्यही अनुरुप काम गर्छु । संविधान र कानूनले दिएको अधिकार र सीमा भित्र रहेर सबैको साझा भएर काम गर्छु । विवादित हुँदिन ।
पहिले पहिले महिलाहरुले गर्नै सक्दैनन् भन्ने साेचाइ थियो । तर अहिले अवसर पाए महिलाहरुले धेरै राम्राे गर्न सक्छन् भन्ने साेचको केही हदसम्म विकास त भएको छ । उदाहरणकै लागि हेराैँ न, विद्यादेवी भण्डारी यो मुलुकको राष्ट्रपति हुनुहुन्छ । उहाँले गरेरै देखाउनुभएको छ । ओनसरी घर्ती पनि संघमा सभामुख हुनुभयो । उहाँले पनि त्यो भूमिकालाई कुशलतापूर्वक निभाउनुभयो । सुशिला कार्की प्रधानन्याधीश हुनुभयो, सर्वाेच्च अदालत हाँकेरै देखाउनुभयो । अहिले महिलाले पाएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सक्दैनन् भन्ने त हुँदै हुँदैन ।
सभामुखका हिसाबले म यो गर्न सक्छु वा यस्ताे गर्छु भन्ने त्यस्ताे केही योजना छन् ?
यसलाई मैले अवसरका रुपमा लिएको छु । काम गर्दै जाँदा चूनाैतीहरु स्वाभाविक रुपमा आउँछन्, त्यो पनि मलाई थाहा छ । यो मेराे पहिलाे संसदीय अभ्यास हाे । यसपालि चार/पाँच जनाबाहेक अन्य सबै पहिलाे पटक प्रदेशसभामा आउनुभएको छ । त्यसैले हामीले काम गर्दै, सिक्दै र आफूलाई सुधार गर्दै जाने हाे । आफ्नाे सँगै उहाँहरुको क्षमताको विकास गर्दै जाने वातावरण मिलाउने हाे । प्रदेशसभाको काम कर्तव्य र अधिकार के हाे त? त्यो भूमिका निर्वाह कसरी गर्ने भन्ने पनि छ । प्रदेशसभाका समितिहरु बनाउँदा कसरी प्रभावकारी बनाउने । कार्यव्यवस्था परामर्श समितिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सबैसँग समन्वय गरेर अगाडि बढ्छु ।
दाेस्राे, जनसराेकारका विषयहरु छन् । हामीले निर्वाचनका बेला जनतामा लगेका घाेषणापत्रका विषयहरु छन् । घाेषणापत्रमा उल्लेख गरिएका वा भनाैँ जनतासँग गरिएका वाचाहरुलाई प्रदेशसभामा कसरी उठाउने ? कानून बनाएर ती विषयहरुलाई कसरी कार्यान्वयन गर्ने ? यी तमाम विषयहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्छु ।
अर्को कुरा, महिला राजनीतिकर्मी भएका नाताले महिलाहरुको क्षमता बढाउने कुरा, राजनीतिमा सहज रुपमा उनीहरुको सहभागिता र प्रतिनिधित्व गराउन त्यस सम्बन्धी बनेका कानूनको कार्यान्वयन गर्ने कुरामा, महिला मैत्री कानूनहरु निर्माण गर्ने कुरामा हामीले भूमिका खेल्नुपर्छ जस्ताे लाग्छ । प्रदेशमा पहिलाे महिला सभामुख बनेर एउटा इतिहास बनेको छ । अब त्यो भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेर अर्को इतिहास बनाउनु छ, बनाउँछु । उदाहरणीय काम गरेर देखाउँछु ।
यो सामाग्री नेपाल चेक डटओआरजीले उत्पादन गरेको हो ।