बढ्दो महँगी, आफ्ना इच्छा, चाहना र पारिवारिक आवश्यकता पूरा गर्न दिनरात नभनी काम गर्नाले मानिसमा कामको बोझ बढ्दै गएको छ । हामीले आफ्नो काम वा व्यवसायी जीवनलाई पनि व्यवस्थित र सन्तुलित बनाउन जान्नुपर्छ ।
शारीरिक तथा मानसिक रूपमा सबल रहन पनि काम र व्यावसायिक क्षेत्रमा सन्तुलन कायम राख्नु आवश्यक हुन्छ।कामको बोझ र निरन्तरको तनावले ‘बर्न आउट’ को समस्या आउन सक्छ। निरन्तरको अत्यधिक तनावले गर्दा शारीरिक, मानसिक र भावनात्मक रूपमा हुने थकित अवस्था नै ‘बर्न आउट’ हो ।
कामको तनावले आफ्नो काम-व्यवसायमा समेत हानि पुर्याउँछ । त्यसैले कामको तनावलाई बेलैमा व्यवस्थापन गर्न जरुरी हुन्छ ।
कामको तनाव के हो ?
हामीलाई दैनिक जीवनमा विभिन्न कुराको तनाव हुन्छ । यसमा कामको तनाव पनि एक हो । हामी जीवन यापन गर्ने क्रममा विभिन्न काम, व्यवसाय वा जागिरमा लागेका हुन्छौँ । घरायसी काम, खेती किसानी, सामाजिक काम, व्यापार-व्यवसायमा कहिले काहीँ विभिन्न खालका अप्ठ्यारा वा उल्झनहरू झेल्नु पर्ने हुनसक्छ । जसले हामीलाई मानसिक तनाव समेत दिने गर्छ ।
कामको तनावका कारणहरू :
कामको चाप बढ्नु : कहिलेकाहीँ कामको अत्यधिक चाप बढेर जान्छ। काममा बढी मिहिनेत गर्नु पर्ने वा सधैँको भन्दा बढी समय दिनुपर्ने हुन्छ । आफ्नो काममा सफल हुन तीव्र प्रतिस्पर्धा गर्नुपर्ने हुनसक्छ । यस्तो अवस्था कामको तनाव पनि बढ्दै जान्छ ।
काम गाह्रो हुनु : आफूले चाहे जस्तो र सजिलो काम नहुँदा पनि तनाव हुन्छ । धेरै शारीरिक तथा मानसिक बल लगाउनु पर्ने काम हुँदा पनि तनावको सामना गर्नुपर्ने हुन्छ ।
रुचिको काम नहुनु : आफ्नो रुचि, क्षमता, दक्षता र अनुभव भन्दा बाहिरको काम बाध्यताले गर्नुपर्ने भएमा पनि तनावको अवस्था आउँछ ।
काम गर्ने वातावरण उपयुक्त नहुनु : अफिस वा कम्पनीको भौतिक वातावरण उपयुक्त नहुँदा पनि तनावको अवस्था आउँछ । कार्यालयका सहकर्मी र हाकिमको व्यवहार तनावको कारण बन्न सक्छ। काममा टिम वर्क नहुनु, कामको जस नपाउनु, काममा हौसलाको कमी, असुरक्षा, प्रोत्साहनको कमी, हीनताबोध आदिले तनाव दिन सक्छ ।
दोहोरो भूमिका : घरपरिवार तथा अफिसको दोहोरो जिम्मेवारी, आफ्नो करियर र घर परिवारलाई सन्तुलनमा राख्न नसक्नु जस्ता कारणले तनाव उत्पन्न हुनसक्छ । विशेषगरी कामकाजी महिलाहरुले घर र अफिस दुवैको काम भ्याउनु पर्ने हुँदा थप तनावको सामना गर्नु पर्ने हुनसक्छ ।
सेवा सुविधाको कमी : जति मिहिनेत गरेर काम गर्दा पनि सोचे जस्तो प्रतिफल नआउँदा, भनेजस्तो आर्थिक लाभ हासिल गर्न नसक्दा, न्यून तलब, बोनस तथा आवश्यक सेवा सुविधा नपाउँदा, पदोन्नति नहुँदा, रिफ्रेसमेन्ट लगायतका तालिमको अभाव हुँदा पनि तनावको सामना गर्नुपर्ने हुनसक्छ । काममा आवश्यक जनशक्ति र सरसामानको अभावले पनि काममा अवरोध तथा तनाव पुर्याउने हुन्छ ।
कामको तनाव कम गर्ने उपाय :
श्वास प्रश्वासको अभ्यास गर्नुहोस् : आफ्नो ढाडलाई सिधा राख्नुहोस् । आँखा बन्द गर्ने र गहिरो लामो श्वास लिने, गहिरो लामो श्वास छोड्ने गर्नुहोस् । यसो गर्दा आराम मिल्छ । शरीर र मन शान्त हुन्छ । तनाव कम भएर जान्छ ।
सङ्गीत सुन्नुहोस् काम गर्दा गर्दै पनि आफ्नो अनुकूलता अनुसार आफूलाई मनपर्ने गीत सङ्गीत सुन्न सकिन्छ । सङ्गीतले मानसिक तनाव कम गर्छ । मन र शरीरलाई शान्त गराउँछ ।
कामबाट केही समयको लागि बिदा लिनुहोस् :
आफ्नो दौडधुपपूर्ण दिनचर्याबाट केही समय छुट्टी लिनाले कामको तनाव कम भएर जान्छ । सधैँ एकैनास काम गर्दा काम गर्ने क्षमता र सृजनशीलता घट्छ । काम पनि राम्रो हुँदैन । तनाव लिएर काम गर्नु भन्दा केही समय छुट्टी लिई आराम गर्नु बेस हुन्छ । बिदामा बसेका बेला कामको तनाव लिनु हुँदैन । बिदाको समयमा साथीभाइ, परिवारसँग समय बिताउने, मनोरञ्जनात्मक कार्यमा सहभागी हुने गर्नुपर्छ ।
पानी प्रशस्त पिउनुहोस् : काम गर्दा प्रशस्त पानी पिउनु पर्दछ । शरीरमा पानीको मात्रा कम भयो भने पनि थकाई लाग्ने, आलस्य हुने, तनाव बढ्ने हुन्छ ।
योग-ध्यान गर्नुहोस् : योग-ध्यान गर्दा मानसिक तनाव कम हुन्छ । व्यस्त जीवनमा त योग-ध्यान गर्नु अति नै जरुरी हुन्छ । कामको जति नै व्यस्तता भए पनि नियमित कम्तीमा ७ घण्टा सुत्नु पर्छ । निद्राले शरीर र मनलाई आराम दिने र शरीरमा शक्ति प्रदान गर्ने गर्छ।
कामको बिचबिचमा केही समयको विश्राम लिनुहोस् : लगातार लामो समयसम्म काम गर्नाले शरीर त थाक्छ नै मनमा पनि आलस्य हुने, झर्को लाग्ने, रिस उठ्ने हुनसक्छ । काम गर्दा बिचमा केही समय विश्राम गर्ने, साथीहरूसँग रमाइलो कुराकानी गर्ने, अनुभवहरू सुन्ने-सुनाउने गर्नुपर्छ । आफूलाई मन पर्ने क्रियाकलापमा सहभागी हुने गर्नाले पनि तनाव कम भएर जान्छ । जति नै व्यस्त भए पनि समय निकालेर खाजा खान भुल्नु हुँदैन ।
चिया पिउनुहोस् : चियाले पनि मानसिक तनाव र थकावट हटाउनमा मद्दत गर्छ । चियामा सकेसम्म ग्रीन टी नै पिउनु उत्तम हुन्छ ।
प्रकृतिसँग रमाउनुहोस् : आफ्नो कार्य व्यस्तताबाट एकै छिन समय निकालेर बाहिर खुला ठाउँमा निस्कने र प्रकृतिसँग रमाउने गर्नुपर्छ । हल्का व्यायाम गर्ने, जिउ तन्काउने, यताउति चारैतिर हेर्ने, निलो आकाश, हरिया रुखहरू, फुलहरू, चरा चराचुरुङ्गी आदि प्रकृतिसँग एकै छिन समय बिताउनाले पनि तनाव कम भएर जान्छ ।
यस्तो प्रकृति ठाउँ नहुँदा शान्त ठाउँमा बस्ने र आफू गएको राम्रो र सुन्दर ठाउँको कल्पना गरेर पनि रमाउन सकिन्छ ।
समस्याको हल खोज्नुहोस् : काम गर्ने क्रममा समस्याहरू पनि आउन सक्छन् । यसले तनाव दिन सक्छ। समस्याको बारेमा आफ्ना साथीभाइ, सहयोगी तथा सहकर्मीहरूसँग छलफल गर्ने, आफ्नो अवस्था र समस्याको बारेमा जानकारी गराउने र सहयोग लिने गर्नुपर्छ । समस्याको सृजनशील र रचनात्मक रूपमा समाधान खोज्नु पर्छ । कामलाई सहज बनाउने तर्फ लाग्नुपर्छ । समस्याको समाधानका लागि नयाँ केही गर्नुपर्ने छ भने पनि आवश्यक कदम चाल्नु पर्छ ।
कामसँग सम्बन्धी केही नयाँ कुरा सिक्नुहोस् : आफ्नो काम- व्यवसायसँग सम्बन्धित केही नयाँ ज्ञान, सीप, तालिम वा जानकारी लिनुहोस् । आफूलाई सधैँ अपडेट गर्दै लानुहोस् । यसले आफ्नो काममा परिपक्वता ल्याउँछ ।काममा सृजनशील बनाउँछ । काममा रुचि बढ्दै जान्छ । थकान र तनाव पनि कम हुन्छ ।
घरलाई घर जस्तो र कार्यालयलाई कार्यालय जस्तो बनाउनु होस : कतिपय मानिसहरू घरको कामलाई दिएर कार्यालयमा तनाव लिने वा कार्यालयको कामलाई लिएर घरमा तनाव लिने गर्छन् । हामीले समयको व्यवस्थापन गर्ने र घरको काम घरमै र कार्यालयको काम कार्यालयमा नै सम्पन्न गर्ने गर्नुपर्छ । आफूले गर्न नसक्ने वा नभ्याउने कामको जिम्मा लिनुहुँदैन । योजना वा तालिका बनाएर काम गर्नाले कार्य सम्पादन गर्न सहज हुन्छ ।
मनोपरामर्श सेवा लिनुहोस् : कामको तनाव झेल्न गाह्रो भएमा वा कामको तनावले दैनिक जीवनमा असर पर्न थालेमा वा अन्य मानसिक स्वास्थ्य समस्या देखा परेमा आवश्यकता अनुसार साइकोलोजिस्ट वा काउन्सेलरको सहयोग लिनु पर्छ ।
ढकाल मनोविद् हुन् । उनी मार्क नेपाल मनोसेवा केन्द्रका अध्यक्षसमेत हुन् ।