खुसी जीवनको आधार भनेकै मानसिक सु-स्वास्थ्य हो । मानसिक स्वास्थ्य बिना स्वास्थ्यको कल्पना समेत गर्न सकिँदैन । मानसिक रूपमा स्वस्थ हुनु भनेको मानसिक रोग नलाग्नु मात्र भने होइन ।
मानसिक स्वास्थ्य समस्या विश्वभरि नै बढ्दो क्रममा छ। विश्व स्वास्थ्य सङ्गठनले सन् २०१२ मा निकालेको प्रतिवेदनमा सन् २०३० पछि मानव स्वास्थ्यको ठुलो चुनौतीको रूपमा मानसिक स्वास्थ्य रहने उल्लेख गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले संसारभर करिब २५ प्रतिशत मानिसहरूमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या रहेको उल्लेख गरेको छ । विश्वका करिब ४५ करोड मानिस मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क छ ।
स्वास्थ्य समस्याका कारण रहने विश्वव्यापी भारको १३ देखि १५ प्रतिशत भाग मानसिक समस्याका कारण सिर्जित भएको छ । नेपालमा पनि करिब ६०-७० लाखको हाराहारीमा मानसीहरू मनोसामाजिक समस्याबाट प्रभावित भएको र जसमध्ये करिब तीन लाखमा कडा खालको मानसिक रोग रहेको अनुमान गरिएको छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा ४.३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। सर्वेक्षणले १० प्रतिशत वयस्कमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या रहेको देखाएको छ । चार जना मध्ये एक व्यक्ति व्यक्ति आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक समस्याद्वारा पीडित रहने गरेको पाइन्छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अध्ययन अनुसार, नसर्ने रोगहरूमध्ये १८ प्रतिशत हिस्सा मानसिक रोगको रहेको छ ।
ओझेलमा मानसिक स्वास्थ्य
मानसिक स्वास्थ्य महत्त्वपूर्ण भईकन पनि यो सबैको पहुँच र प्राथमिकतामा पर्न सकेको छैन नेपालको संविधान २०७२ ले स्वास्थ्यको अधिकारलाई मौलिक हकको रूपमा समावेश गरेको छ। आधारभूत स्वास्थ्य सेवाको एक महत्त्वपूर्ण हिस्सा भएर पनि मानसिक स्वास्थ्य सेवा निःशुल्क, सहज र सर्वसुलभ हुन सकेको छैन। सरकारको उपेक्षाका कारण नेपालका सबै जिल्लाहरूमा अझै पनि मानसिक स्वास्थ्य सेवा उपलब्ध हुन सकिरहेको छैन ।
नेपालमा ५ जना मानसिक रोगीमध्ये ४ जनाले उपचार नै नपाउने अवस्था रहेको देखिन्छ। हाम्रो जस्तो निम्न आय भएका देशमा करिब ८० -८५ प्रतिशत भन्दा बढी जनता मानसिक रोगको उपचारबाट वञ्चित हुनु परेको अवस्था छ।
पछिल्लो समय कोरोना भाइरसको प्रकोपले मानसिक स्वास्थ्य समस्या बढेर गएको छ । कोरोना महामारीपछि २० प्रतिशतले मानसिक स्वास्थ्य समस्या बढेर गएको देखिन्छ । कोरोना महामारीले गर्दा सघन मानसिक स्वास्थ्य सेवा अवरुद्ध भएको, मानसिक स्वास्थ्य सेवाको पहुँच नराम्ररी प्रभावित भएको अवस्था छ।
मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यका तर्फबाट पर्याप्त लगानी हुन सकिरहेको छैन। दातृ निकायको पनि यस क्षेत्रमा आँखा पर्न सकेको छैन । नेपाल सरकारले स्वास्थ्य बजेटको एक प्रतिशत भन्दा कम बजेट मानसिक स्वास्थ्यको लागि छुटाउने गरेको छ । जुन अत्यन्तै न्यून हो । मानसिक स्वास्थ्यमा पर्याप्त लगानीको जरुरत पर्छ।
अध्ययनहरूले देखाए अनुसार डिप्रेसन र एन्गजाइटीजस्ता प्रमुख एवं विश्वव्यापी मानसिक समस्याहरूको उपचारका लागि १ डलर मात्र लगानी गरेमा मात्र पनि त्यसको प्रतिफल स्वास्थ्य क्षेत्रमा मात्र ३ डलर बराबर अनि सर्वाङ्गीण अर्थतन्त्र र उत्पादनशीलतामा ५ डलर बराबरको हुनेछ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको कमी छ । मनोचिकित्सक, मनोविद्, मनोपरामर्शदाता, सामाजिक कार्यकर्ता, साइक्याट्रिक्स नर्सजस्ता जनशक्ति अत्यन्तै न्यून छन्।
किशोर किशोरीहरू मानसिक समस्याको जोखिममा
बालबालिका र किशोर–किशोरीलाई मानसिक समस्या हुँदैन, भन्ने भ्रम छ । तर अनुसन्धानले देखाए अनुसार आधाभन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ वर्षभित्र सुरु हुने गरेको छ भने २४ वर्षको उमेरसम्म ७५ प्रतिशत मानसिक स्वास्थ्य समस्या देखिएको पाइन्छ । प्रत्येक ५ बालबालिका र किशोर–किशोरीमध्ये १ जना मानसिक रोगबाट ग्रसित रहेको पाइन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको मानसिक स्वास्थ्य सर्वेक्षणमा पनि १६ वर्षका उमेर समूहका (७.७) प्रतिशत किशोर–किशोरीमा बढी मानसिक समस्या रहेको पाइएको छ। यसै गरी विश्वभरिमा नै १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको दोस्रो कारण आत्महत्या भएको पाइएको छ ।
मानसिक समस्याले आत्महत्याको जोखिम
मानसिक रोगले आत्महत्या जस्तो गम्भीर परिणाम समेत निम्त्याउन सक्छ । आत्महत्याको गर्नुका पछाडि धेरै कारणहरू हुन सक्छन् । तर ९०% भन्दा बढी आत्महत्याका घटना मानसिक स्वास्थ्य समस्याका कारण हुने गरेको छ ।
विश्वभर आत्महत्यालाई मानव मृत्युका दश ठुला कारणमध्येको एक मानिन्छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार विश्वमा वार्षिक ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । नेपालमा पनि आत्महत्या गर्ने दर बढ्दै गएको छ । गत वर्ष मात्र नेपालमा ६८३० जनाले आत्महत्याबाट ज्यान गुमाएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।
मानसिक रोगले चौतर्फी असर
मानसिक रोग लाग्दा व्यक्तिको सोच-बिचार, भावना,अनुभूति, चेतना, व्यवहार, कार्य क्षमता, निर्णय गर्ने क्षमता, सम्बन्ध, आर्थिक उत्पादकत्व, व्यक्तित्व जस्ता कुरामा चौतर्फी असर पुग्छ । मानसिक रोगहरूका कारण हुने व्यक्तिगत असक्षमता, संस्थागत, उत्पादनशीलतामा आउने ह्रास, कार्यक्षमतामा हुने नोक्सानी, सामाजिक उत्तरदायित्व वहनमा आउने समस्या आदिलाई आर्थिक मानकका आधारमा गणना गर्दा मनोसामाजिक समस्याहरूका कारण सन् २०१० देखि २०३० बीचका दुई दशकमा विश्व अर्थतन्त्रमा १६० खर्ब डलर बराबरको नोक्सानी हुने आङ्कलन गरिएको छ ।
परिवारमा एक जना व्यक्ति मानसिक समस्या पर्दा समग्र परिवारको आर्थिक उत्पादकत्व नै प्रतिकुल असर पुर्याउँछ ।
मानसिक स्वास्थ्यमा जनचेतनाको अभाव
मानसिक स्वास्थ्यका विषयमा शिक्षा र चेतनाको कमीको कमी,भ्रम, अन्धविश्वासका कारण मानसिक स्वास्थ्यप्रति व्यक्तिको बुझाइ अझै सकारात्मक हुन सकेको छैन। मानसिक स्वास्थ्यलाई कलङ्कको रूपमा हेरिन्छ। मानसिक रोगलाई पूर्व जन्मको पाप, अपराध, देवी देवताको श्राप, कुल देवता बिग्रेको, लागो भागो, बोक्सी लागेको भन्ने खालको अन्धविश्वास अझै पनि छ ।
शारीरिक रोग झैँ मानसिक रोग जो सुकैमा जुन सुकै उमेरमा पनि देखिन सक्छ । मानसिक रोग लाग्नु कुनै अनौठो कुरा होइन । बदलिँदो सामाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागू पदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङ्गिक विभेद, अन्धविश्वास, गलत प्रथा, राजनीतिक अस्थिरता, वंशाणुगत जस्ता कारक तत्त्वले मानसिक स्वास्थ्य समस्या देखिन्छ।
तर मानसिक रोगीलाई अवहेलना गर्ने, उपचारबाट वञ्चित गर्ने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, भूत-प्रेत वा बोक्सी लाग्यो भनेर उपचारका नाममा तातो पन्युँले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ। समाजमा अनावश्यक रूपमा हेलाको पात्र भइएला कि भनेर कतिपय अवस्थामा मानिसहरूले आफ्नो समस्या लुकाउने गरेको पनि पाइन्छ । मानसिक स्वास्थ्य समस्याको बारेमा गलत धारणालाई तोड्न यस सम्बन्धी जागरण र जनचेतनाको खाँचो छ ।
मानसिक रोग, आत्महत्याप्रतिको गलत धारणालाई हटाउन यस विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ। यस विषयमा अभियान नै सञ्चालन गर्नु जरुरी देखिन्छ ।
(लेखक मनोविद् हुन् । उनी मार्क नेपाल मनोसेवा केन्द्रका संस्थापक अध्यक्ष हुन् । )